अब पार्टी एक हुनुको विकल्प नभएको ः देउवा

चैत्र २९, पोखरा ।

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अब पार्टी एक हुनुको विकल्प नभएको बताएका छन् । बिहिबारबाट पोखरामा सुरु भएको नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुकोे तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

देउवाले पार्टीको पुरानो रोगलाई निर्मूल पार्दै आफ्नै पार्टी्भित्र पनि गलत कार्य गर्नेलाई कारबाही गरेर अगाडी बढ्ने बताएका थिए । पार्टी अन्तरघातमुक्त बनाएर अगाडि बढ्ने पनि उनको भनाई थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै पार्टीका शिर्ष नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले १ वर्षको अवधिमा कुनै काम गर्न नसकेको बताउँदै यो सरकार उद्घाटन र शिलान्यासमा मात्र व्यस्त भएको आरोप लगाए ।

पार्टीको गुट—उपगुटको विषयमा बोल्दै महामन्त्री शशांंक कोइरालाले केन्द्रीय कार्यालयमा बसेर व्यवस्थापन मिलाइदिन आग्रह गरे । महामन्त्री कोइरालाले पार्टीमा एकरुपता ल्याउन महामन्त्रीको हैसियतले जस्तोसुकै कार्य पनि गर्ने बताए ।

पोखरामा बिहीबारदेखि सुरु भएको सम्मेलन शुक्रबार सकिनेछ । सम्मेलनले सरकारका गतिविधि चित्तबुझ्दो नभएकाले देशव्यापी विरोधका कार्यक्रम सञ्चालन गर्नका लागि केन्द्रलाई आग्रह समेत गर्ने र कास्की क्षेत्र नं २ सहित रिक्त स्थानमा निर्वाचन गराउन सरकारलाई दबाब दिनेछ ।

पार्टीलाई चलायमान र सुदृढ बनाउने उद्देश्यले सम्मेलन गर्न लागिएको नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिए ।