चैत्र २८, स्याङ्जा ।
स्याङ्जा अर्जुनचौपारी गाउँपालिका वडा नम्बर एक चिसापानी वेत्ताल सामुदायिक वनमा वुधबार मृत कंकाल लाश भेटिएको छ ।
प्रहरी चौकी अर्जुनचौपारीबाट सुचना प्राप्त भए अनुसार जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी अर्जुनचौपारीको टोली खटिएर लाशलाइ प्रारम्भिक अनुसन्धान पछि पोष्टमार्टमको लागि जिल्ला अस्पताल स्याङ्जामा पठाईएको थियो ।
यो घटना थाहा पाए पछि स्याङ्जाको पुतलि बजार नगरपालिका वडा नम्बर–१३, हिरापाट बस्ने ६२ वर्षका धनसिंह घर्तिले प्रहरी समक्ष मृत कंकाल लाश आफ्नो भाइको भएको बताएका छन ।
उनले मृतकले लगाएको कपडाको आधारमा मृतक आफ्नो भाइ भएको बताएका हुन ।
“५२ वर्षका ड्याम वहादुर घर्तिको मेरो भाई हो ।” धनसिंहले प्रहरी समक्ष भने,–“उस्को मानसिक अवस्था ठीक थिएन, हाम्रो बुवा आमा पहिल्यै वित्नुभयो, श्रीमतीले समेत भाईलाइ छाडी गई, उस्को कोही नभएकाले भाइ म सँग बस्दै आएको थियो ।”
ड्याम वहादुर गत कार्तिक छ गते घरबाट आफूखुशी हिंडि हराएका धनसिंहको भनाइ छ ।
भाइलाई खोजि गर्दा समेत नभेटे पछि गत कार्तिक ११ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जामा हुलिया सहितको निवेदन दिएको थियो ।
निवेदनको व्यहोरा अनुसार वुधबार साँझ जिल्ला प्रहरी कार्यालय स्याङ्जामा शवको सनाखत कागज गरीएको छ ।
यस सम्वन्धमा थप अनुसन्धन भैरहेको प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले बताए ।