संरक्षकलाई माछापुच्छ्रे बैंक ओपन टेनिसको उपाधि

पोखरा ।

संरक्षकभुषण बज्राचार्यले माछापुच्छ्रे ओपन टेनिस प्रतियोगितामा मेन्स सिंगलतर्फको उपाधी जितेका छन् । सोमबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा प्रणव खनालमाथि ३–६, ७–६ र ६–३ को कठिन नतिजा निकाल्दै संरक्षकले सो उपाधी आफ्नों पोल्टामा पारेका हुन् । जितसंगै उनले नगद ५० हजार सहित ट्रफि पुरस्कार पाए । दोश्रो स्थान हाँसिल गरेका प्रणवले नगद २५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गरे ।

३५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा कमल भण्डारीले उपाधि रक्षा गरे । उनले गोरखाका राजु श्रेष्ठलाई ६–३, ६–३ को सेटमा पराजित गरेका थिए । जितसंगै भण्डारीले नगद ५० हजार सहितको ट्रफि उचाले भने दोश्रो स्थान सुरक्षित गर्दै श्रेष्ठले नगद २५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गरे ।

४५ वर्ष माथिको एकल प्रतिस्पर्धाको उपाधि भने चन्द्र लामाले आफनो पोल्टामा पारे । उनले विमल गुरुङलाई पराजित गरे । ६–४, ७–५ को सेटमा पराजित गर्दै लामाले उपाधि उचाल्न सफल भए । जितसंगै लामाले नगद २० हजार तथा उपविजेता गुरुङ्गलाई नगद १० हजार सहित ट्रफि पुरस्कृत गरियो ।

५५ वर्ष माथिको एकल उपाधी भेट्रान च्याम्पियन कमल थापाको पोल्टामा पुग्यो । फाइनल खेलमा उनले पोखरेली खेलाडी अनिल तुलाचनलाई ७–६ र ६–२ को सेटमा पराजित गरे । थापाले नगद २० हजार तथा तुलाचनले नगद १० हजार सहित ट्रफि पुरस्कार प्राप्त गरे । त्यस्तै ६५ वर्ष माथिको एकलमा ज्ञानेन्द्र ताम्राकार प्रथम भए । उनले फाइनल खेलमा दिपक श्रेष्ठलाई ४–२, ४–० ले पराजित गरेका हुन् ।

विजयी खेलाडीहरुलाई प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंकका गण्डकी प्रमुख भुवनसिंह खत्रि, प्रायोजक ट्रयाङ्कुलिटी स्पाका पोखरा प्रतिनिधी दिपेन्द्र पहारी, नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, टेनिस अग्रज प्रशिक्षक शरद लामा लगायतले पुरस्कार प्रदान गरेका थिए । आयोजक संघ कास्कीका अध्यक्ष दोर्जे लामाले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरे ।