काँग्रेसद्वारा महिला नेतृ गुरुङको निधनमा दुःख व्यक्त

पोखरा ।

कास्कीकी महिला नेतृ प्रभाश्री गुरुङको निधनप्रति काँग्रेसले दुःख व्यक्त गरेको छ । कास्की काँग्रेस र क्षेत्रीय समिति क्षेत्र नं १ ले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी उनको निधनप्रति दुःख व्यत्त गरेका हुन् ।

कास्की काँग्रेसका सभापति कृष्ण केसी र क्षेत्रीय सभापति बिर्जमान गुरुङले विज्ञप्ति मार्फत् उनको निधनले पार्टीका अपूरणिय क्षति पुगेको जनाएका छन् । विज्ञप्तिमा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ ।

केही समय अघिदेखि निमोनियाबाट पीडित गुरुङको काठमाण्डौंस्थित टोखा अस्पतालमा उपचारका क्रममा बिहिबार निधन भएको हो । उनको शुक्रबार तुल्सिघाट तमु प्लेहु संघ नजिकै बोन धर्म संस्कृति अनुसार अन्त्येष्टि गरिएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

उनको पार्थिव शरिरमा काँग्रेसका केन्द्रीय सदस्य जीवन परियार, कास्की जिल्ला सभापति कृष्ण केसी, पूर्व मन्त्री यज्ञबहादुर थापा, क्षेत्र नं १ का सभापति बृजमान गुरुङ लगायतले पार्टीको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेका थिए ।