पोखरा ।
निजी विद्यालयहरुको छाता संस्था प्याबसन कास्कीले आयोजना गरेको ‘१६ औं प्याब्सन स्पोर्टस मिट–२०७६’ को मंगलबार यूवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) ले एक भब्य समारोहकाविच उद्घाटन गरेका छन ।
सो अबसरमा बोल्दै मन्त्रीविश्वकर्माले खेल क्षेत्रको समृद्धी नभई मुलुकको समृद्धीको कल्पना गर्न नसकिने बताए । उनले भने–‘वर्तमान सरकार मुलुकको समृद्धको नारा लाई सफल बनाउनका लागि सरकारले ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरका रंगशालाको निर्माण र ७ सय ५३ वटै स्थानिय निकायमा खेलग्राम स्थापना हुनुपर्ने कुरालाई विशेष महत्वका साथ उठाएको हो ।’सरकारले बनाएको सोचलाई मूर्तरुप दिन खेलकुद मन्त्रालय दृढ संकल्पका साथ अगाडी बढेको समेत उनले बताए ।
नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकूद (साग) को सम्पन्न पश्चात प्राप्त उपलव्धीले समाजले खेलकूद क्षेत्रलाई हेर्ने दृष्टीकोणमा परिवर्तन आएको धारणा राख्दै मन्त्री विश्वकर्माले निजी शिक्षण संस्थाहरुले शिक्षा संगै खेल क्षेत्रलाई महत्वका साथ राखेकोमा सिंगो शिक्षा र खेलकुद क्षेत्र गर्विलो अनुभव गरिरहेको कुरा उल्लेख गरे । शारिरिक र मानसिक प्रतिभालाई उजागर गर्न खेलकूदको बिकास अपरिहार्य रहेको बताउँदै मन्त्री विश्वकर्माले मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्ती संगै खेलाडी उत्पादन गर्न यस्ता कार्यक्रम महत्वपूर्ण रहने बताए । ‘खेल क्षेत्रमा लागेर केही हुन्न र भविष्य समेत छैन भनेर पछुतो मान्ने दिन समाप्त भएको’ बताउँदै मन्त्री विश्वकर्माले खेल क्षेत्रबाटै इतिहास रच्न सकिन्छ र खेलकुदमा भविष्य छ भन्ने कुरा स्थापित गर्न मन्त्रालयले आफ्ना कामहरु अघि बढाएको स्पष्ट पारे ।
पोखरा रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रुपमा स्थापित गर्न स्टेडियमको काम छिट्टै सम्पन्न गरिसक्ने बताउँदै मन्त्री विश्वकर्माले अव नवौ राष्ट्रिय खेलकुदका लागि स्विमिङ लगाएत अन्य पूर्वाधार समेतको काम सुरु गरिने बताए । पोखरा रंगशाला स्थित क्रिकेट स्टेडियमको समेत चाँडै नै काम थालिने उनले बताए । सो अवसरमा मन्त्री विश्वकर्माले १६ औं प्याबसन स्पोर्टस मिटको उद्घाटन कार्यक्रम अन्तरगत सम्पन्न मार्च पासमा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने विद्यालयहरुलाई ट्रफी तथा प्रमाणपत्र वितरण गरे । मार्चपासमा सहभागी ४१ विद्यालयमध्ये रेन्वो एकेडेमी प्रथम, नोवेल एकेडेमी द्वितिय, ढुङ्गे साँघु बोर्डिङ स्कूल तृतिय भए ।
त्यसैगरि कन्चन्जंघा बोर्डिङ स्कूल, पोखरा लर्नस, सोसियल पव्लिक र हिमाञ्चल बोर्डिङले सान्त्वना स्थान प्राप्त गरे । कार्यक्रममा बोल्दै प्याबसन कास्कीका अध्यक्ष पदमप्रसाद शर्माले विद्यालय नै खेलाडी उत्पादनको मुख्य थलो रहेको स्पष्ट पार्दै सागको आधार र गरिमालाई स्थापित गर्न समेत स्पोर्टस मिट जस्ता कार्यक्रम सहयोगी हुने बताए । उनले नेपालको शिक्षा क्षेत्रमा निजी शिक्षण संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको धारणा समेत राखे ।
बालबालिकाको शिक्षामा थप उत्प्रेरणा जगाउन तथा राष्ट्रका लागि खेलाडी उत्पादन गर्न उद्धेश्यले आयोजित प्याबसन स्पोर्टसमा ९६ विद्यालयहरुका ५ हजार १ सय विद्यार्थीहरुले विभिन्न खेलकूद इभेन्टहरुमा सहभागिता जनाएका छन । प्रतियोगितामा फुटबल सिनियर तर्फ ६९ टिम, जुनियर तर्फ ५२ र सिनियर छात्रा भलिबलतर्फ १७ टिम छात्र तर्फ २४ र टेबुल टेनिसमा छात्र–छात्रा गरि ३९ विद्यालयहरुको सहभागिता रहेको छ । मंगलबार छात्र–छात्रातर्फ ८०० मिटरको दौड सम्पन्न भएको प्याबसन कास्कीका सहसचिब बेदप्रसाल बस्ताकोटीले जानकारी दिएका छन ।
सम्पन्न खेलमा छात्रा तर्फ टप्स माबीका सयिबा खातुनमियाले २ मिनेट ५८.२३ सेकेण्डमा दुरि पार पर्दै प्रथम भएकी छन । यसै गरि स्नोभ्यूकी पार्वती श्रेष्ठले ३ मिनेट ४.६६ सेकेण्डमा दुरि पार गर्दै द्वितिय र भाष्कर मेमोरियलकी सन्जु नेपाली ३ मिनेट ११.४७ सेकेण्डमा दुरी पार गर्दै तेश्रो भइन । छात्रतर्फ सम्पन्न ८०० मिटरमा विद्या निकेतनका सन्देश ढकालले २ मिनेट १९.७५ सेकेण्डमा दुरि पार गर्दै प्रथम, बेसलाइनका प्रसाद अधिकारी २ मिनेट २०.२५ सेकेण्डमा दुरी पार गर्दै द्वितिय र शिसु निकेतनका सुगम थापा २ मिनेट २.२७ सेकेण्डमा दुरी पार गर्दै तृतिय भए ।