पोखरा ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा सञ्चालित ट्रायथोलन तर्फबाट नेपाललाई फेरि अर्को स्वर्ण मिलेको छ । मंगलबार भएको दुआथलनको खेलबाट नेपाललाई एक स्वर्ण प्राप्त भएको छ । पुरुषतर्फको स्प्रिन्ट बिधा अन्तरगतको दुआथलनमा नेपाललाई स्वर्ण पदक प्राप्त भएको हो ।
निर्धारित दुरीमा नेपालका हिमाल टमाटाले ५७ मिनेट ३३ सेकेण्डमा पार गरि पुरुष तर्फको दुआथलनमा स्वर्ण पदक हासिल गरेका हुन् । त्यसैगरि, पुरुषतर्फको रजत पदक पनि नेपालले नै जितेको छ । लक्ष्मण मल्लले निर्धारित दुरी ५९ मिनेट १३ सेकेण्डमा पार गर्दै रजत पदक हासिल गरेका हुन् । ५९ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै श्रीलंकाका आशिथ पेरेराले कास्य पदकमा चित्त बुझाउन प¥यो ।
मंगलबार नै भएको महिलातर्फको स्प्रिन्ट विधाको दुआथलनमा श्रीलंकाले स्वर्ण र कास्य पदक प्राप्त गरेको थियो भने नेपालले रजत पदक हासिल गरेको थियो । श्रीलंकाकी एरेङ्गा दुलाक्सीले निर्धारित दुरी १ घण्टा ५ मिनेट ५८ सेकेण्डमा पार गर्दै स्वर्ण पदक हासिल गरिन् । १ घण्टा ८ मिनेट ५४ सेकेण्डमा दुरी पार गर्दै नेपालकी हुमी बुढा मगरले रजत पदक जितिन् । श्रीलंकाकै उदय कुमारीले १ घण्टा ९ मिनेट ९ सेकेण्डमा दुरी पार गर्दै कास्य पदक हात पारिन् ।
यो सँगै नेपालले ट्रायथोलनका विभिन्न विधामा दुई स्वर्ण, दुई रजत र एक कास्य आफ्नो पक्षमा पारिसकेको छ । मंगलबार भएको दुआथलनका लागि पुरुष तथा महिला तर्फका लागि ५ किलोमिटर दौड, २० किलोमिटर साईकिलिङ र २.५ किलोमिटर दौडको दुरी तय गरिएको थियो ।
पुरुषमा आशा गरे अनुसार नै नतिजा आएको बताउँदै ट्रायथलनका मुख्य प्रशिक्षक युवराज सिलवालले महिला खेलाडीमा केही कमजोर देखिएको स्वीकार्छन् । उनी भन्छन्– ‘हामीले चाहेको र मागेको सामान परिषद्बाट समयमा आएन । समयमा पाएको भए स्वर्ण थप्न सकिन्थ्यो ।’ बुधबार हुने मिक्स टिम रिलेमा स्वर्ण पदक आउने प्रशिक्षक सिलवाल बताउँछन् ।
नेपालका लागि स्वर्ण पदक जिते पश्चात हिमाल टमाटाले स्वर्ण कुनै पनि हालतमा जित्ने भनेर सहभागि रहेको बताए । ५ वर्षदेखि निरन्तर दुआथलनमा लागेका टमाटा भन्छन्– ‘एउटा सपना पुरा भयो । अवको सपना एसिएन खेलमा स्वर्ण पदक जित्ने हो ।’
पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको खेलमा सहभागि रजत पदक विजेता हुमी बुढा मगर खेलमा आवश्यक पर्ने सामानहरु समयमै उपलब्ध भएको भए सायद स्वर्ण जित्न सक्ने बताईन् ।
बुधबार १ स्वर्णका लागि नेपाल, भारत र श्रीलंकाका खेलाडीहरु मिक्स टिम रिलेमा प्रतिस्पर्धा गर्नेछन् । मिक्स टिम रिलेमा प्रत्येक देशका २ पुरुष र २ महिलासहितको एक÷एक टिम रहनेछ । रिलेमा ३ सय मिटर पौडी, ६ किलोमिटर साईकिलिङ र २.५ किलोमिटर दौडको दुरी तय गरिएको छ ।