लायन्सको क्याबिनेट मिटिङ पोखरामा

पोखरा ।

लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी १ नेपालको दोस्रो क्याबिनेट मिटिङ पर्यटकीय नगरी पोखरामा हुने भएको छ । मिटिङको तयारी तिब्र बनाइएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । क्याबिनेट मिटिङ कात्तिक २९ र ३० गते पोखरामा हुँदैछ ।

२९ गते क्याबिनेट पदाधिकारीहरुको बैठक एस.आर.केसी. ब्याङक्युट माटेपानीमा र ३० गते सम्पूर्ण लायन्स सदस्य सम्मिलित बैठक प्रदर्शनी केन्द्र नयाँबजारमा हुने क्याबिनेट सेक्रेटरी विनोद ढुंगानाले जानकारी दिए । ‘पर्यटकीय नगरी पोखरामा क्याबिनेट मिटिङ आयोजना भएकाले उल्लेख्य संख्यामा लायन सदस्यहरुको उपस्थिति रहने हामीले विश्वास लिएका छौं,’ उनले भने ।

क्याबिनेट मिटिङको तयारीलाई तिब्र बनाइएको कार्यक्रम संयोजक ऋषि गिरीले जानकारी दिए । ‘पोखरामा राम्रो व्यवस्थापनसहित क्याबिनेट मिटिङ सञ्चालन गर्दैछौं,’ उनले भने, ‘करिब ४ हजार भन्दा बढी लायन्स सदस्यलाई स्वागत गर्ने गरी तयारीमा होमिएका छौं ।’
लायन्स क्लब अफ पोखरा हेल्पफुल हेण्ड्स र लायन्स क्लब अफ पोखरा डल्फिनको आतिथ्यतामा क्याबिनेट मिटिङ हुँदैछ । क्याबिनेट मिटिङले पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने सेकेण्ड भाइस गभर्नर विशेश्वर आचार्यले बताए । ‘भिजिट वर्ष २०२० को पूर्व सन्ध्यामा आयोजित यो क्याबिनेट मिटिङ पोखराका लागि गौरवको कुरा हो,’ उनले भने ।

क्याबिनेट मिटिङको तयारीका क्रममा सचिवालय स्थापना भइसकेको छ । अर्चलबोटस्थित उत्तम आयल स्टोर्ससँगै स्थापना गरिएको सचिवालयबाट मिटिङको तयारीको काम भइरहेका कार्यक्रम सहसंयोजक मोहन सुवेदीले जानकारी दिए । ‘रजिस्टेसनको सहजताका लागि सचिवालय स्थापना गरिएको हो,’ उनले भने । कात्तिक २५ गतेसम्मका लागि अग्रिम रजिस्टेसन खुल्ला गरेको गिरीले जानकारी दिए । ‘हालसम्म करिब ५ सय जना लायन सदस्यहरुले रजिस्टेसन गरिसकेका छन् भने रजिस्टेसन गर्ने क्रम जारी छ,’ उनले भने ।

डिष्ट्रिक्ट ३२५ बि १ नेपाल सेवा र सदस्यताका हिसावले संसारकै उत्कृष्ट डिष्ट्रिक्टमा पर्न सफल रहेको क्याबिनेट सेक्रेटरी ढुंगानाले बताए । हाल यस डिष्ट्रिक्टमा ४ सय २२ वटा लायन्स क्लब छन् । सदस्य संख्या ११ हजार ८ सय ५५ रहेको उनले जानकारी दिए ।

वर्तमान डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्सालको मुख्य नारा ‘राइज टु इम्पावर’ अन्तर्गत रहेर सेवाका कार्यक्रमहरु अगाडि बढाइरहेको ढुंगानाले बताए । ‘बेरोजगार तथा अवसरबाट बञ्चित महिला तथा युवाहरुलाई विभिन्न किसिमका सिपमुलक तालिमहरु प्रदान गरी स्वदेशमै आत्मनिर्भर बनाउने अभियानमा हाम्रो डिष्ट्रिक्ट यो वर्ष अगाडि बढेको छ,’ उनले भने, ‘आजका दिनसम्म १ हजार जना भन्दा बढीलाई सिपमुलक तालिम प्रदान गरिसकेका छौं । ती मध्ये अधिकांशले रोजगारीको अवसरसमेत प्राप्त गरिसकेका छौं । यो अभियान वर्षभरी नै जारी रहनेछ ।’