विवेकशील नेपाली दलद्वारा उम्मेदवार घोषणा

पोखरा ।

विवेकशील नेपाली दलले आगामी उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । पोखरामा विवेकशील नेपाली दलको कार्तिक १८ र १९ गते बसेको बैठकले कास्की–२ अनि वाग्लुङ २ (ख) मा पार्टीको तर्फबाट उम्मेदवार दिने लगायत केही महत्त्वपूर्ण निर्णय गरेको छ।

उक्त बैठकले कास्की क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यका लागि जमुना शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कास्की बैदाम घर भएकी जमुना शर्मा महिला अधिकारको क्षेत्रमा लामो समयदेखि क्रियाशील छन् । मनोसामाजिक परामर्शमा समेत उत्तिकै दख्खल शर्मा कानुन, समाजशास्त्र, राजनीतिशास्त्र तथा ग्रामीण विकासमा पोख्त छिन्।

जमुनाले एचआईभी पीडित, द्वन्द्वपीडित, मानसिक रूपमा समस्यामा परेका बालबालिका तथा महिलालाई विभिन्न माध्यमबाट अतुलनीय सहयोग गर्दै आएकी छिन् । त्यस्तै, विवेकशील नेपाली दलले बागलुङ २ (ख) प्रदेशसभाका लागि सन्तोष भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। भण्डारी बुर्तिवाङका युवा उद्यमी तथा व्यवसायी हुन् ।

उनका बुबा सत्तारूढ दलका तर्फबाट निर्वा्चित जनप्रतिनिधि भए पनि उनी विवेकशील नेपाली दलको स्थापनाकालदेखिकै सक्रिय नेता हुन्। उनी विवेकशील नेपाली दलको बागलुङ संयोजक तथा गण्डकी प्रदेश समिति सदस्यसमेत हुन् ।