पोखरा ।
तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्नेक्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारले रु ३० लाख बजेट विनियोजन गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले चितुवा नियन्त्रणका लागि बजेट विनियोजन गरेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी दिए ।
मन्त्री गुरुङकाअनुसार आवश्यक परे थप बजेट विनियोजन गरिनेछ । चितुवा नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक सबै सहयोग गर्ने मन्त्री गुरुङले बताए । ‘चितुवाको आक्रमणले भानुमा ६ बालबालिकाको ज्यान गइसकेको छ’–मन्त्री गुरुङले भने–‘चितुवा नियन्त्रणका लागि के–कस्ता काम गर्न सकिन्छ सबैका लागि प्रदेश सरकारको सहयोग रहनेछ ।’
प्रदेश सरकारले विनियोजन गरेको बजेट सामुदायिक वनमा खोर निर्माण, सचेतनामूलक कार्यक्रमलगायतका काममा खर्च गरिने डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । बालबालिकालाई आक्रमण गर्ने नरभक्षी चितुवालाई नियन्त्रणमा लिन ‘विशेष सुरक्षा दस्ता’ उक्त क्षेत्रमा परिचालन भएको छ ।
डिभिजन वन प्रमुख बरालकाअनुसार कार्यालयबाट चार, नेपाल प्रहरीबाट चार र सशस्त्र प्रहरीबाट ११ जनाको विशेष सुरक्षा दस्ता चितुवा नियन्त्रणका लागि खटिएका छन् । जिल्ला प्रशासन कार्यालयले चितुवा नियन्त्रणका लागि उक्त टोलीलाई गोली हान्नेसमेतको अधिकार प्रदान गरेको छ ।
विशेष सुरक्षा गस्तीका अलवा चितुवा नियन्त्रणका लागि भानुका सामुदायिक वनमा ९ ओटा काठका खोर राखिएको छ । उक्त खोरमा परेर दुईओटा चितुवा नियन्त्रणमा आएपनि त्यस क्षेत्रमा थुप्रै चितुवा रहेको अनुमान गरिएको छ ।
चितुवाको आक्रमणबाट वि.सं. २०७४ फागुन १ गते भानु नगरपालिका–३, दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, वि.सं. २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४, जोखानेका ४ वर्षीया रञ्जिता लम्साल, मंसिर १५ गते भानु नगरपालिका–२, ढल्केवरका १० वर्षीय अमृत गुरुङ, जेठ २४ गते भानु नगरपालिका–२, भकुन्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१, जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२, फुस्रेटारमा ७ वर्षीय ऋतिक रोकाको मृत्यु भएको थियो ।
तनहुँको म्याग्दे गाउँपालिका–१, गुणादीमा शनिबार बिहान चितुवाले गाईको बाच्छीलाई आक्रमण गरेको छ । सोही ठाउँका मुक्तिनाथ खनालको गोठमा बाँधिरहेको गाईको बाच्छीलाई चितुवाले आक्रमण गरेको हो ।
चितुवाको आक्रमणबाट बाच्छीको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट बाच्छीको शरीरको विभिन्न भागमा चोट लागेको छ । भानु नगरपालिकाका विभिन्न वडामा चितुवाको आक्रमण बढिरहेको समयमा म्याग्देमा पनि चितुवाले गाईको बाच्छीलाई आक्रमण गरेपछि यहाँका स्थानीयवासी त्रसित बनेको स्थानीयवासी विजयराज खनालले बताए ।