पोखरा ।
नेपाल खानेपानी संस्थान पोखरा शाखामा नेपालीका विभिन्न पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । पोखरा शाखामा आयोजित कार्यक्रममा कार्यालय प्रमुख इन्जिनियर निरण महर्जनले दसैं पर्व असत्यमाथि सत्यको विजय भएको पर्व भएकाले असत्यको पराजय भएरै छाड्ने बताएका छन् ।
पोखरा शाखाका प्रशासन प्रमुख शिवराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालय प्रमुख महर्जनले कर्मचारीले दक्षता हासिल गर्दै उपभोक्तालाई सेवा दिन आग्रह गरे । पोखरा शाखामा लोकसेवाबाट नयाँ नियुक्ति भई आएका कर्मचारीलाई उर्जाशील ढंगबाट सेवा दिन आग्रह गरे ।
प्रमुख महर्जनले पोखरा महानगरको चाहना अनुरुप ३३ वटै वडामा खानेपानी संस्थानले सेवा दिन तयार रहेको प्रधान कार्यालयको पनि चाहना भएकाले छिट्टै नयाँ योजनामा लाग्ने बताए । संस्थानबाट दिने सेवा उपभोक्ता मैत्री हुनुपर्ने बताउँदै महर्जनले वृहद् एकीकृत खानेपानी आयोजनामार्फत् सिंगो महानगरबासीलाई सेवा दिनुपर्ने बताए । कार्यालय प्रमुख महर्जनले कर्मचारीको अभावले भनेजस्तो सेवा दिन नसकिएको बताउँदै छिट्टै करारमा कर्मचारी नियुक्तगरी उपभोक्तालाई स्वच्छ पिउनेपानी वितरण गरिनुपर्ने बताए ।
शाखा कार्यालयमा हुने गतिविधि केन्द्रले नियालीरहने बताउँदै आफूले पोखरामा विताएको ४ वर्षको अवधिमा धेरै अनुभव बटुलेको बताए । महर्जनले भने, ‘सरुवा बढुवा नियमित प्रक्रिया हो, केही व्यक्तिको चाहना पूरा होस् ।’ उनले सरुवाबाट कुनैपनि कर्मचारी भाग्न नहुने भन्दै सेवा गर्नु पहिलो कर्तव्य भएको बताए । विभिन्न जिल्लाबाट खानेपानी संस्थान पोखरामा सेवा गर्न आएका कर्मचारीबीच कुनैपनि मतभेद नराखी भविष्यमा हुन सक्ने समस्यामा एकाकार हुन आग्रह गर्दै विजयादशमी, दिपावली, नेपाल सम्वत, छठ तथा इद्को शुभकामना दिए ।
शाखाका कर्मचारी केदार धमलाको सञ्चालनमा भएको कार्यक्रममा नेपाल खानेपानी संस्थान हेम्जा शाखाका प्रमुख दिनेश्वरप्रसाद यादव, इन्जिनियर रामचन्द्र लामिछानेले चाडपर्वसँगै एक आपसमा सद्भाव, मेलमिलाप एवं प्रगतिकालागि शुभकामना दिएको सवइन्जिनियर प्रकाश सिलवालले जानकारी दिए ।