कास्कीको माछापुच्छे गाउँपालिका तोडफोड गरेको आरोपमा ३ जना पक्राउ

पोखरा ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको कार्यालयमा तोडफोड गरेको आरोपमा सोही गाउँपालिका वडा नं. १ वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन् । वडा १ का अध्यक्ष वीरेन्द्र गुरुङ, वडा नं. ३ का सदस्य गणेश आचार्य र तरुण दलका नेता विपुल क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

माछापुच्छ्रे गाउँपालिकामा तोडफोड गरेको भन्ने किटानी जाहेरी परेपछि वडा प्रहरी कार्यालय बगरको प्रहरी टोलीले वडाध्यक्ष गुरुङ सहित अन्य २ जनालाई पोखराको जिरो किलोमिटरबाट पक्राउ गरेको हो । घटना विवरण अनुसार भदौ १२ गते कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका प्रत्यासी खुसीराम गुरुङ नेतृत्वको टोलीले गाउँपालिकाबारे केही सूचना माग गरेको थिए ।

भदौ २५ मा सोही टोलीले सूचना नदिएको भन्दै गाउँपालिका कार्यालय पुगेको र सूचना नदिएको भन्दै फर्निचर लगायतका सामग्री तोडफोड भएको जाहेरीमा उल्लेख छ । जाहेरीमा ४ जनाको नाम किटानीसहित ४५ जनाविरुद्ध पक्राउ गरी कानुनी कार्वाहीको माग गरिएको छ । काँग्रेसले भने सूचना माग्न जाँदा बजेट किताब र वेबसाइड हेर्न भनिएको बताएको छ ।

कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहनुभएकी उपाध्यक्ष कृष्णकुमारी दवाडीले गाउँपालिकामा प्रशासकीय अधिकृतसँग छलफल चलिरहेका बेला कार्यालयमा तोडफोड भएको जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ भने विदेश भ्रमणमा रहनुभएको छ ।