पर्यटन पर्वद्धनका निम्नि पर्यटकलाई स्वागत

पोखरा ।

पोखराको पर्यटन पर्वद्धनसँगै भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै आन्तिरिक तथा वाह्य पर्यटकलाई पोखरा विमानस्थलमा गत आइतबार एक कार्यक्रम गरी स्वागत गरिएको हो ।

‘हाम्रो संस्कृति हाम्रो पहिचान लोपोन्मनु संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्थापित पुष्पाञ्जली फेशन एण्ड इभेन्टको आयोजनामा नेपाल पर्यटन वोर्ड पोखराको सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

नेपाली महिलाहरूको चार्ड हरितालिका तीज पर्वको समेत अवसर पारेर पर्यटकलाई चुरा, पोते, सल र साडी वितरण समेत गरिएको थियो । यस्ता कार्यले पर्यटन पर्वद्धनमा सहयोग पुग्ने पुष्पाञ्जलीकी अध्यक्ष शोभा गौतमले जानकारी दिइन् ।

नेपाली मौलिक कला र संस्कृतिको संरक्षण गर्ने अभिप्रायले नेपाली कला र संस्कृति बारे पर्यटकहरूलाई जानकारी गराउने साथै उनीहरूलाई न्यानो आतिथ्यता प्रदान गर्न सके मात्र भ्रमण वर्ष २०२०ले सार्थकता हासिल गर्ने कार्यक्रम संयोजक लक्ष्मी गुरुङले जानकारी दिइन् ।

पर्यटकीय राजधानीमा आउने वित्तिकै स्वागत गर्दा पर्यटकहरूको प्रतिक्रिया अझ सकरात्मक पाइएको र धेरै पर्यटकहरूलाई भ्रमण बर्षको बारेमा प्रत्यक्ष जानकारी गराउन सकिएकोमा सहभागीहरूले खुशी व्यक्त गरेका थिए । आगामी दिनहरूमा पनि यस्ता कार्यक्रम अन्य संघसंस्थाहरूसँग सहकार्य गरी अझ वृहत्त रूपमा अगाडि बढइने आयोजकले जानकारी दिए ।