प्रदेश सांसद बराल र वडाध्यक्ष पौडेललाई युवा जागृतिको सम्मान

पोखरा ।

पोखरा महानगरपालिका–१९ काउरेमा अवस्थित युवा जागृति क्लबले गण्डकी प्रदेश सांसद रामजी प्रसाद बराल र सोही वडाका वडाध्यक्ष शोभामोहन पौडेललाई सम्मान गरेको छ । क्लबको आयोजनामा सोमबार हरितालिका तीजको अवसरमा भएको खुल्ला तीज गीत प्रतियोगिताको अवसरमा उनीहरु सहित राष्ट्रिय आवास विकास कम्पनीमा हालै महाप्रवन्धक पदमा नियुक्त भएका क्लबका पूर्व अध्यक्ष नारायण बास्तोलालाई समेत सम्मान गरिएको थियो ।

नेकपा जिल्ला कमिटि सदस्य एवं समाजसेवी दीपक पौडेल, युवा नेता एवं मदन भण्डारी फाउन्डेशन कास्कीका अध्यक्ष माधव बास्तोला, क्लबका अध्यक्ष बसन्त बास्तोला लगायतले क्लब तथा त्यस क्षेत्रको विकासमा योगदान गरेको भन्दै सांसद बराल र वडाध्यक्ष पौडेललाई दोसल्ला तथा सम्मानपत्रबाट सम्मान गरेका थिए । कार्यक्रममा सांसद बरालले क्लबले प्रदान गरेको सम्मानबाट अझ बढी दायित्व थपिएको महशुस भएको र त्यसलाई इमान्दारीपूवर्क लागू गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सांसद बरालले राज्यले सडक, खानेपानी, सिँचाइ लगायत विकास पूर्वाधारमा लगानी गरेपछि जनताले के गर्छ भन्ने अहम् प्रश्न रहने बताउँदै जनताले उत्पादन बृद्धि गर्नेतर्फ लाग्नुपर्ने बताए । आफूलाई आवश्यक बस्तुको आफ्नै ठाउँमा उत्पादन हुनुपर्नेमा जोड दिँदै उनले बस्तु खरिदको लागि बाहिर पैसा पठाउदा धनी बन्न नसकिने चर्चा गरे । वडाध्यक्ष शोभामोहन पौडेलले लामाचौर–माछापुच्छ«रे सडक वडाको मेरुदण्ड रहेको बताउँदै यसको विस्तार गरिनुपर्ने बताए । उनले वडाको विकासका लागि संघ र प्रदेश सरकारसँग रु ११ करोडका योजना पेश गरिएको समेत स्पष्ट पारे ।

नेकपा जिल्ला कमिटि सदस्य एवं समाजसेवी दीपक पौडेलले समग्र १९ नम्वर वडाका नागरिक वडाको विकासका लागि एकजुट रहेको बताए । मदन भण्डारी फाउन्डेशन कास्कीका अध्यक्ष एवं युवा नेता माधव बास्तोलाले संघ, प्रदेश र स्थानीय सरकारसँग वडाको विकासका लागि निरन्तर पहल भईरहेको बताउँदै नमूना वडा बनाउने योजना शुरु भएको स्पष्ट पारे । कार्यक्रममा तीज गीत प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय तथा उत्कृष्ट नृत्य गर्नेहरुलाई नगद सहित पुरस्कृत गरिएको थियो ।