पोखरा ।
नेपाल पत्रकार महासंघ कास्की शाखाद्धारा सञ्चालित तथा पालिखे परिवारद्धारा स्थापित ‘प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७५’ बाट हिमदुत राष्ट्रिय दैनिकका सम्पादक रविन्द्र बास्तोला सम्मानित भएका छन् ।
मंगलबार पोखरामा आयोजित कार्यक्रमका बीच नेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्मानपत्र, दोसल्ला तथा नगद ५५ हजार ५ सय ५५ ले सम्मान गरेका हुन् । सम्मानित व्यक्तित्व बास्तोलाले सञ्चारमाध्यम मानवअधिकार, स्वतन्त्रता तथा प्रजातन्त्रको विरुद्धमा कहिले पनि नहुने बताए ।
उनले कार्यक्रम मार्फत नै आफ्नो आमाबाबाको नामबाट आगामी हरेक वर्षमा शिक्षा पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । नेपाल पत्रकार महासंघ कास्की शाखाले सञ्चालन गर्ने गरी ‘विश्व रेवती’ नामबाट हरेक वर्ष पुरस्कार वितरण गर्ने घोषणा गरेका हुन् । २५ हजार ५ सय २५ रुपैयाँको पुरस्कारका लागि उनले सम्मान भएबापत प्राप्त गरेको नगद सहित अक्षयकोष समेत स्थापना गर्ने भएका छन् ।
अक्षयकोष मार्फत उक्त पुरस्कार वितरण गर्ने र समय अनुसार पुरस्कार रकम वृद्धि हुने समेत उनले कार्यक्रममा नै जानकारी दिएका छन् । पुरस्कारदाताको पारिवारको तर्फबाट बोल्दै सुनयना पालिखेले समेत २ लाख ५० हजारको अक्षयकोष स्थापना गर्ने घोषणा गरेकी छिन् । अक्षयकोष मार्फत नै पोखरेली आमा नामबाट चिनिएकी उत्तराकुमारी पालिखेको नाममा पुरस्कार प्रदान गर्ने उनले बताइन् । खराकै अन्नपुर्ण एफ.एमको स्थापना दिवसका दिन उक्त पुरस्कार प्रदान गरिने समेत उनले कार्यक्रममार्फत जानकारी दिएकी छिन् ।
नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कास्की काँग्रेसका सभापति कृष्ण केसी, नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष दामु अधिकारी, वरिष्ठ पत्रकार नारायण कार्की लगाएतले बोलेका थिए भने स्वागत पत्रकार महासंघ कास्की शाखाका उपाध्यक्ष बिमला भण्डारी तथा सञ्चालन सचिव रामप्रसाद तिमिल्सिनाले गरेका थिए ।