पोखरा ।
१२ औं वार्षिकोत्सवको अवसरमा पोखरा भाँडा व्यवसायी संघ कास्कीले पोखरा २४, कास्कीकोटस्थित सिद्व बराह आधारभूत विद्यालयलाई सहयोग गरेको छ । संघले शैक्षिक तथा खेलकुद सामग्री सहित चम्चा, गिलास, जग गरी करीब ४० हजार मूल्य बराबरको सहयोग गरेको हो ।
संघले सामाजिक उत्तरदायित्व अन्तर्गत वर्षेनी सहयोग गर्दै आइरहेको छ । कार्यक्रममा संघका सल्लाहाकार कुश कार्कीले संघले व्यवसायिक हितसँगै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्व दिएको बताए । उनले व्यावसायीले समाजको आवश्यकता बुझी त्यसै अनुरुप सहयोग गर्ने उल्लेख गरे । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले राजनीतिक व्यवस्था परिवर्तन भएपनि जनताको व्यथा र आवश्यकता जस्ताको तेस्तै रहेको उल्लेख गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सुबेदीले विद्यार्थीका लागि पोशाक आवश्यक रहेकाले अन्य दातासँगबाट सहयोग जुटाईदिन आग्रह गरे । कार्यक्रममा पोखरा २४ वडासदस्य सन्तु सुबेदी, विद्यालयका प्रधानाध्यापक भोलानाथ अधिकारी लगायतले बोलेका थिए । त्यस अवसरमा संघका सल्लाहाकार राजमान ताम्राकारले आफ्नो व्यक्तिगत तर्फबाट नर्सरीका विद्यार्थी स्पर्श चपाईलाई विद्यालय पोशाक र जुत्ताकालागि २ हजार ५ सय रुपैयाँ सहयोग गरेका थिए ।
संघले वार्षिकोत्सवको अवसरमा साउन २५ गते शनिवार पोखराको बीपी चोकमा रक्तदान कार्यक्रम गर्न लागेकाले सहभागिताका लागि अनुरोध गरेको छ । संघले छिट्टै सरकारी संचालन ल्याउने तयारी पनि गरेको छ ।