यसवर्ष पनि पोखरामा बोलबम जलयात्रा गर्ने तयारी

पोखरा ।

विगत १६ वर्षदेखी श्रावण महिनाको प्रत्येक सोमबार पोखरामा गरिदै आएको बोलबम यात्रा यसवर्षपनि गरिने भएको छ । साउन महिनाको प्रत्येक सोमबार हुने बोलबम यात्रा पोखराको शुक्लागण्डकी गाईघाट देखि सुरु भई केदारेश्वर मन्दिरमा पुगेर समापन हुनेछ । भगवान शिवको महिमा र आस्था दर्शाउने भक्तजनहरु स्वतन्त्र रुपमा बोलबम यात्रामा सहभागी हुन सक्ने बोलबम समिति पोखराका संयोजक शंकर खरालले जानकारी दिनुभयो ।

पुर्व तयारी स्वरुप केदारेश्वर महादेवमणी मन्दिरमा विहिबार आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै उहाँले विगतमा जस्तै यसवर्ष पनि वयवस्थित रुपमा बोलमयात्रा गर्ने प्रबन्ध मिलाईएको बताउनुभयो । उहाँका अनुसार गाईघाटमा रहेका १०८ धारामा स्नान, गण्डकीको पानी सहित ८ किलोमिटर पैदल यात्रा र वैदाम स्थित केदारेश्वर मन्दिरमा रहेका १०८ शिवलिङ्गमा जर्लापर्ण गरि बोलबम यात्रा गरिनेछ ।

नेपालको छिमेकी मुलुक भारतमा निकै उत्साहका साथ मनाईने बोलबम यात्रा नेपालमा पहिलो पटक पोखराबाटै सुरुवात गरिएको थियो । पोखरामा यसको सुरुवात भएपछि मात्रै विस्तारै मुलुकका विभिन्न स्थानका शिवालयहरुमा समेत बोलबम जलयात्रा गर्न थालिएको विश्व हिन्दुमहासंघका केन्द्रिय सदस्य समेत रहेको संयोजक खरालले बताउनुभयो । बोलबम जलयात्रा समयअनुसार परिमार्जीत हुदै आएको र यसप्रति शिवभक्तहरुको समेत सहभागीता र चासो बढ्दै गएको उहाँले बताउनुभयो ।

“पोखरामा जतिबेला बोलबम यात्रा सुरु गरियो, त्यतिबेला नेपालबाट धेरै भक्तजनहरु भारतमा जर्लापर्ण गर्न जानुहुन्थ्यो, संयोजक खराल भन्नुहुन्छ, नेपालमा जर्लापर्ण गर्ने चलन कम थियो, र विगत १७ वर्ष अघि धार्मीक पर्यटकको रुपमा नेपालबाट ठुलो धनरासी विदेशिने र नेपालका पवित्र धार्मीक स्थलहरु ओझेलमा पर्ने गरेका थिए, तर त्यो क्रम पोखरामा जब बोलबम यात्रा सुरु गरिसकेपछि अहिले रोकिएको छ । यति मात्र होईन अहिले भातिय पर्यटकहरु समेत यहाँ आउने क्रम बढेको छ ।”

पर्यटनको राजधानी शहरका रुपमा परिचित पोखरा पछिल्लो समय विस्तारै आध्यात्मीक शहरका रुपमा समेत विकसित हुदै गएकामा केदारेश्वर महादेवमणी सेवा आश्रम वैदामका पिठाधिस डा.लेखनाथ आचार्यले खुसि व्यक्त गर्नुभयो । बोलबम मार्फत सनातन धर्मको प्रवद्र्धन, विकास र संरक्षणसंगै यसको महत्वलाई थप उजागर गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । “बोलबमको नाराले शान्ति पाए सारा’ भन्ने भजनका साथ बोलबम जलयात्रामा भक्तजनहरु उल्लासका साथ सहभागी हुनेगर्दछन्, डा.आचार्य भन्नुहुन्छ, आशा छ यसवर्ष पनि भक्तजनहरुको निकै ठुलो संख्या बोलमब जलयात्रामा सहभागी हुनुहुनेछ ।” यसो गर्दा मनोकांक्षा पुरा हुने र आत्मिक शान्ति प्राप्त हुने उहाँको विश्वास छ । पोखरामा हुने बोलबम यात्रामा स्वदेशीसंगै विदेशका विभिन्न मुलुकबाट पोखरा घुम्न आएका पर्यटकहरुको समेत सहभागीता रहने गरेको उहाँले बताउनुभयो ।

यसमा विषेश गरि भारतबाट नेपाल घुम्न आएका र रोजगारीको सिलसिलामा नेपालमा बसिरहेका भातिय नागरीकहरुको समेत ठुलो संख्यामा सहभागीता रहने गरेको डा.आचार्यले बताउनुभयो । यसवर्ष पोखरामा संचालन गरिने बोलबम यात्रामा पोखरामा क्रियाशिल विभिन्न आमा समुह तथा संघसंस्थाहरुले प्रत्यक्ष सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरेका छन् । यसवर्ष साउनको पहिलो सोमबार आगामी ६ गतेको परेको छ । साउन महिना भरि जम्मा चारवटा सोमबार परेका छन् । ति सोमबारहरुमा विभिन्न आमासमुहहरुले भक्तजनहरुको व्यवस्थापन लगायत प्रसाद वितरण सम्मको काम गर्नेछन् । साउन महिनालाई देवादिदेव भगवान श्री महादेवको महिनाका रुपमा लिने गरिन्छ ।