पोखरा १७ मा एमालेलाई झट्का, युवा संघ उपाध्यक्ष माओवादीमा

पोखरा, ३० कात्तिक
एमालेनिकट युवा संघ पोखरा १७ का उपाध्यक्ष दीपक उप्रेती माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार भएको युवा विद्यार्थी भेलामा उप्रेतीसहित ३५ जना एमाले परित्याग गरी माओवादी प्रवेश गरेका हुन् ।

उनीहरुलाई माओवादी नेता एवं कास्की २ (१) मा पाँच दलीय गठबन्ध्नका साझा उम्मेदवार विश्वप्रकाश लामिछानेले स्वागत गरे । लामिछानेले अहिले आफूहरुको मुख्य प्रतिवद्वता नेपाली जनता समृद्धि भएको बताए । उनले भने, मौलिक हक कार्यान्वयन गरेमात्र जनता समृद्ध हुन्छन् । यसका लागि हामी योजनावद्ध प्रयास गर्छौैंं ।’

उम्मेदवार लामिछानेले अहिलेको परिवर्तनको सूत्रधार माओवादीसँग भविष्य निर्माणको खाका भएकाले सच्चा देशभक्तहरु यो पार्टीमा आवद्ध हुँदै गएको बताए । उनले सर्वसाधारणको चुलोमा समृद्धि आएको अनुभव हुने गरी काम गर्ने वाचा गरे । लामिछानेले भने, ‘नेतालाई मात्र समृद्धि आएर पुग्दैन । विपन्न परिवारको घरमा लालपुर्जा पुर्याउनुछ, जनताको समस्या समाधान गर्न गठबन्धनले चुनाव जित्नुपर्छ ।’

कास्की २ मा गठबन्धनका साझा उम्मेदवार श्रीनाथ बरालले बाँकी दिनमा चलखेल हुन सक्ने भएकाले सजग हुन आग्रह गरे । उनले युवालाई जोडेर देशमै रोजगारी र समृद्धिका लागि गठबन्धनको जित जरुरी हुने औंल्याए ।