प्रदेश ४ मा २४ अर्बको बजेट

पोखरा । प्रदेश ४ को सरकारले आगामी बर्षका लागि २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले संसदमा बजेट प्रस्तुत गरे । सरकारले केन्द्रीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, राजस्व बाँडफाँट र आन्तरिक स्रोत गरी यो बजेट ल्याएको हो ।

६ अर्ब ९१ करोड ७५ लाख चालु खर्च र १५ अर्ब ९० करोड ७८ लाख रुपैयाँ पुँजीगत र अन्तर सरकारी हस्तान्तरणका लागि १ अर्ब २० करोड रुपैयाँ विनियोजनसहित प्रदेश सरकारले ल्याएको हो ।

६६ प्रतिशत पुँजीगत, २९ प्रतिशत चालु र वित्तीय व्यवस्थातर्फ ५ प्रतिशत हुने गरी बजेटको बाँडफाँट गरिएको छ ।

बजेटको स्रोतमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानवापत ६ अर्ब ७७ करोड ६७ लाख, सशर्त अनुदानवापत ६ अर्ब ५० करोड १९ लाख र राजस्व बाँडफाँडबाट ६ अर्ब ५७ करोड ६० लाख, समपूरक अनुदान ७१ करोड ४२ लाख, विशेष अनुदान ३५ करोड ५० लाख प्राप्त हुने प्रदेश सरकारले अपेक्षा राखेको छ । त्यस्तै आन्तरिक राजस्वबाट १ अर्ब ६९ करोड ९५ लाख रुपैयाँ र आन्तरिक ऋणबाट ८० करोड रुपैयाँ उठाउने उल्लेख गरिएको छ ।

संघीय सरकार र अन्य प्रदेश सरकारले समेत निर्वाचन क्षेत्रमा सांसदको अगुवाइमा खर्च गर्न पाउने गरी बजेट विनियोजन गरे पनि प्रदेश ४ ले भने यस शीर्षकमा बजेट विनियोजन गरेको छैन ।

हरेक स्थानीय तहलाई प्रदेश राजधानी जोड्ने सडक स्तरोन्नती गर्न २ अर्व ६ करोड, एक निर्वाचन क्षेत्र एक स्तरीय सडक कार्यक्रमका लागि हरेक निर्वाचन क्षेत्रमा २ करोड १० लाखका दरले ७५ करोड ६० लाख, सडक सञ्जालमा नजोडिएका क्षेत्रलाई सडकमा जोड्ने पुल निर्माणका लागि ५१ करोड ८५ लाख रुपैयाँ बजेट छ ।

यस्तै अन्तराष्ट्रिय सम्मेलन केन्द्रको अध्ययन गर्न र निर्माण थाल्न १ करोड, फेवाताल संरक्षण र विकासका लागि ८ करोड, ३० गाउँपालिका केन्द्रमा सभाकक्ष निर्माण गर्न १० करोड ५० लाख, विद्युतिकरण गर्न ३८ करोड, काठेपोल विस्थापन गरी फलामे पोल राख्नका लागि ५ करोड, प्रदेशको पर्यटन क्षेत्रको गुरुयोजना बनाउन १ करोड रुपैयाँ छ ।

यस्तै लगानी सम्मेलन आयोजन गर्न १ करोड, मुस्ताङ, मनाङ र चुमनुव्रीमा फिल्म सुटिङ स्पट बनाउन १ करोड ५० लाख, मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ स्थापना गर्न १० करोड ८० लाख, एक स्थानीय तह एक शीतभण्डार निर्माण गर्न एकमुष्ट २६ करोड ५० लाख विनियोजन गरिएको छ ।

एक स्थानीय तह एक औद्योगिक क्षेत्र स्थापनामा १२ करोड, पोखरा औद्योगिक क्षेत्रको विकास गर्न २ करोड, लघु उद्यम विकास कार्यक्रममा ३ करोड विनियोजन छ । प्रदेशको विश्वविद्यालय स्थापना गर्न १ करोड, राजमार्गमा मोवाईल अस्पताल निर्माण गर्न १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment