सरकार पुर्नःगठनसहितको रणनीति बनाउँदै कांग्रेस

काठमाण्डौं । नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनभित्र माओवादी केन्द्रलाई सरकारबाट हटाउने बारेमा छलफल सुरु भएको छ । गठबन्धनभित्र जारी औपचारिक तथा अनौपचारिक छलफलमा माओवादीलाई सरकारबाट हटाउने बारेमा छलफल भएपनि निर्णय अझै भइनसकेको काँग्रेस नेता रमेश लेखकले बताए । उनका अनुसार निर्वाचन आयोगले आचारसंहिता लागु गरेको भए पनि विशेष राजनीतिक परिस्थिति निर्माण भएका कारण निर्णय गर्न गठबन्धनको नेतृत्वमाथि दवाव परेको छ ।

आज नेपाली कांग्रेसले सरकार पुनःगठनका विषयमा थप छलफल गर्दैछ । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बिहान प्रधानमन्त्री निवासमा बोलाइएको छ । बैठकमा दलहरुले मागेका सिट संख्या, तालमेल रणनीति, सरकार पुनःगठन लगायतका सबै विषयमा छलफल हुने लेखकले बताए । राप्रपालाई सरकारमा ल्याउने गरि गृहकार्य भइरहेको छ । लेखकले विशेष परिस्थिति भएकाले निर्वाचन आचारसंहिता मान्न नपर्ने तर्क गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गठबन्धनलाई मजबुत गराउने उद्देश्यका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई सरकारमा आउन आग्रह गरेका छन् । प्रधानमन्त्रीले सरकारमा सहभागी हुन गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै थापाले आज बिहान पार्टी कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठकले सरकारको सहभागिताका विषयमा निर्णय गर्नेछ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment