चलचित्रको पर्दामा खलनायकको भूमिका निभाएर दर्शकलाई रोमाञ्चित गर्ने बलिउड अभिनेता सोनु सूद वास्तविक जीवनमा भने फेरि एक पटक पीडित र असहाय मानिसको सहारा बनेका छन्। नेपालमा गत बुधबार आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउँदै लाखौँ मानिसको जनजीवन प्रभावित बनाइरहेका बेला सोनु सूद राहत सामग्रीसहित नेपालमा आइपुगेका हुन्।
भारतमा कोरोना महामारीदेखि विभिन्न प्राकृतिक विपत्ति र सङ्कटका बेला मानिसको सहयोग गरेर ‘रियल लाइफ हिरो’को परिचय बनाएका सोनु यस पटक नेपाली बाढीपीडितको पीडामा साथ दिन आफ्नो टोलीसहित नेपाल आएका हुन्। उनी भारतबाट आवश्यक राहत सामग्री लिएर नेपाल आएका हुन्। बाढीबाट घरबार तथा आफन्त गुमाएका मानिसहरूको जीवन पुनः सामान्य बनाउन आफूले सक्दो योगदान गर्ने उनले बताएका छन्।
नेपाल आइपुगेपछि सञ्चार माध्यमसँग कुरा गर्दै सोनुले आफू र उनको टोली पीडितसँग प्रत्यक्ष भेट्न र उनीहरूको आवश्यकता बुझ्न आएको बताए। उनले भने, “हामी यहाँ सबै पीडितसँग भेट्न आएका छौँ। हामी भारतबाट धेरै राहत सामग्री लिएर आएका छौँ। सहयोगको आवश्यकता भएका मानिससँगै रहन चाहन्छौँ र उनीहरूको जीवन फेरि बसाउने प्रयास गरिरहेका छौँ।”
सोनुका अनुसार प्राकृतिक विपत्तिले सबैभन्दा बढी प्रभावित बनाएका मानिसहरूलाई यो समयमा केवल राहत सामग्री मात्र नभई साथ, भरोसा र पुनः जीवन सुरु गर्ने हौसला पनि आवश्यक हुन्छ। उनले विपत्तिको घडीमा सहयोग गर्नु हरेक सक्षम व्यक्तिको कर्तव्य भएको बताएका छन्।
उनले थप भनेका छन् कि अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा ती मानिसको साथमा उभिनु हो, जसले पहिले नै ठूलो पीडा भोगिसकेका छन्। बाढीका कारण कतिपयले आफ्नो घर गुमाएका छन् भने कतिपयले आफ्ना परिवारका सदस्य र प्रियजनसमेत गुमाएका छन्। यस्तो अवस्थामा पीडितलाई एक्लो महसुस हुन नदिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उनको भनाइ छ।
नेपालमा सोनु र उनको टोलीले प्रभावित मानिसका लागि खानपान, उपचार तथा बसोबाससँग सम्बन्धित आवश्यक सहयोगको व्यवस्था गर्न पहल गरेको बताइएको छ। तत्काल राहतदेखि दीर्घकालीन रूपमा पीडितको जीवन पुनर्गठन/पुनर्स्थापनामा सहयोग गर्ने उद्देश्यसहित उनी नेपाल आएको जनाइएको छ।
सोनुको नेपाल आगमनसँग सम्बन्धित भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ। भिडियोमा उनलाई राहत सामग्री र आफ्नो टोलीसहित बाढी प्रभावित क्षेत्रमा पुगेर पीडितको अवस्थाबारे जानकारी लिइरहेको देख्न सकिन्छ।
सोनुको नेपाल आगमनसँग सम्बन्धित भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ। भिडियोमा उनलाई राहत सामग्री र आफ्नो टोलीसहित बाढी प्रभावित क्षेत्रमा पुगेर पीडितको अवस्थाबारे जानकारी लिइरहेको देख्न सकिन्छ। उनको यो मानवीय कदमको प्रशंसकले खुलेर प्रशंसा गरिरहेका छन्।
चलचित्रमा अक्सर शक्तिशाली खलनायकको भूमिकामा देखिने सोनु सूदले वास्तविक जीवनमा भने वर्षौँदेखि मानवताको उदाहरण प्रस्तुत गर्दै आएका छन्। विशेषगरी कोरोना महामारीका बेला भारतका विभिन्न स्थानमा अलपत्र परेका हजारौँ मानिसलाई घरसम्म पुर्याउन र आवश्यक सहयोग उपलब्ध गराएपछि उनको सामाजिक कार्यले अन्तर्राष्ट्रिय चर्चा पाएको थियो।
यसैबीच, नेपालमा आएको बाढी र त्यसले निम्त्याएको मानवीय सङ्कटप्रति नेपाली मूलकी चर्चित बलिउड अभिनेत्री मनीषा कोइरालाले समेत दुःख व्यक्त गरेकी थिइन्। उनले नेपालका पीडितलाई सहयोग गर्न र सङ्कटको समयमा देशको साथमा उभिन अन्तर्राष्ट्रिय समुदायलाई समेत आग्रह गरेकी थिइन्।
प्राकृतिक विपत्तिले सीमा चिन्दैन र पीडा पनि कुनै देश वा राष्ट्रियतामा सीमित हुँदैन भन्ने सन्देश सोनु सूदको नेपाल आगमनले फेरि एक पटक दिएको छ। बाढीले जीवन तहसनहस बनाएका मानिसहरूका लागि राहत सामग्रीसँगै मानवीय साथ र भरोसा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
यही विश्वासका साथ सोनु सूद अहिले नेपालका बाढीपीडितको साथमा उभिएका छन्। पर्दामा खलनायक बनेर दर्शकको मन जित्ने अभिनेता वास्तविक जीवनमा भने पीडितको आँसु पुछ्ने प्रयासमा जुट्दा उनको यो कदमले फेरि एक पटक प्रमाणित गरेको छ- साँचो हिरो पर्दामा होइन, कठिन समयमा मानिसको साथमा उभिने व्यक्ति हो।














