काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले रसुवाको भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटस्थित जलविद्युत् आयोजनाका टनेलमा फसेका नागरिकको खोज तथा उद्धारमा सरकारले गम्भीरता नदेखाएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै शाहीले बाढीले थुनिएका सातवटा जलविद्युत् आयोजनाका टनेलमध्ये दुईवटा मात्रै खोलिएको र पाँचवटा टनेलमा अझै खोजी तथा उद्धारको काम हुन नसकेको बताए ।

‘बाढीका कारण सबै टनेलको मुख बन्द छैन । केही टनेलको मुख खुल्लै छ,’ उनले भने, ‘टनेल बन्द भए जुम्लाका लालवीर बुढा, रमेश बुढाहरू कसरी जीवित आए त ? ती टनेलभित्र पसेर खोज्ने काम नै भएको छैन ।’

शाहीले पाँचवटा टनेलमा तत्काल प्रवेश गरेर खोजी गर्न सरकारसँग आग्रह गरे । थुनिएका टनेलबारे विज्ञ र इन्जिनियरसँग पर्याप्त छलफल नभएको उनको आरोप थियो ।

उनले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङसँग समेत सरकारले समयमै संवाद नगरेको बताए ।

घिसिङले ती जलविद्युत् आयोजनामा लामो समय काम गरेको उल्लेख गर्दै शाहीले प्रधानमन्त्री वालेन्द्र शाहले बाढी आएको आठ दिनपछि मात्रै बिहीबार उनीसँग भेट गर्न लागेको बताए ।

जुम्लाका १०१ जना मानिस अझै रसुवा र नुवाकोटका विभिन्न टनेलमा रहेको उनले बताए । टनेलभित्र पसेको हिलो हटाउन मेसिन नभएको प्रधानमन्त्रीले बताएको भन्दै उनले सरकारको तयारीमाथि प्रश्न उठाए ।

‘हामीसँग महावीर पुनजस्ता वैज्ञानिक मन्त्री छन् । हिलो तान्न लगिएको मेसिन तीन दिनदेखि सडकमा अड्किएको छ,’ उनले भने, ‘रसुवाको नौकुण्ड गाउँपालिकामा हिलो तान्ने मेसिन अड्किएर बसेको छ । त्यसलाई हेलिकप्टरले किन लान सकेन ?’

नागरिकको उद्धारका लागि सरकारसँग आग्रह गर्नु अपराध नभएको भन्दै शाहीले आफूलाई जतिसुकै आलोचना भए पनि संकटमा परेका नागरिकको उद्धारको माग गरिरहने बताए ।

‘यदि नागरिकको उद्धार गरिदिनुस् भन्नु अपराध हो भने देश र जनताका लागि म हजार पटक अपराध गर्न तयार छु,’ उनले भने, ‘मैले कसैसँग भिख मागेको होइन । संकटमा परेका नागरिकको उद्धार गरिदिनुस् भनेको हो ।’

आफूहरूसँग सेना परिचालन गर्ने वा ठूलो बजेट चलाउने अधिकार नभएको भन्दै उनले उद्धारको सम्पूर्ण जिम्मेवारी सरकारसँग रहेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग समेत त्यस्तो अधिकार नरहेको उनको भनाइ थियो ।

शाहीले रसुवाको एउटा टनेलमा सांसद बब्लु गुप्ता आफैं रहेको र पाँचवटा टनेलमा अझै प्रभावकारी काम हुन नसकेको बताए ।

‘पाँचवटा टनेलमा केही काम नै भएको छैन। हामीले माग्ने सरकारसँगै हो । हिजो नख्खुमा बग्दै गएका नागरिकलाई उद्धार गर्दिनुस् भन्दा तत्काालीन प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले आक्रमण गरे । रातो लुगा लगाएका एमालेका कार्यकर्ताहरू त्यसबेला हामीलाई कुट्न आउँथे’, उनले भने, ‘अहिले एकजना महिलाले टनेलमा फसेका श्रीमान्को खोजी गरिदिनुस् भन्दा रास्वपाका नीलो साइबर स्यालहरू उनीमाथि दुर्व्यवहारसहित गालीगलौज र आक्रमण गरिरहेका छन्।’