काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक तेस्रो दिन पनि जारी छ।

ललितपुरको बालकुमारीस्थित ज्यापू सभाहलमा बिहीबार बिहान ११ बजेदेखि सुरु भएको बैठकमा कार्यकारिणी समिति सदस्यहरूले उठाएका जिज्ञासा, सुझाव तथा राजनीतिक प्रश्नमाथि पार्टी अध्यक्ष उपेन्द्र यादवले जवाफ दिइरहेका छन्।

दुई दिनभित्र सम्पन्न गर्ने गरी मंगलबारदेखि सुरु भएको बैठकमा विषयवस्तुमाथि सघन छलफल भएपछि सहमति जुटाउन समय लाग्दा बैठक तेस्रो दिनसम्म लम्बिएको हो। अध्यक्ष यादवको सम्बोधन तथा प्रष्टीकरणपछि आवश्यक निर्णय पारित गर्दै बैठक आज साँझसम्म सम्पन्न गर्ने तयारी गरिएको छ।

पार्टी महासचिव डा. सुरेन्द्रकुमार झाका अनुसार बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन, प्रदेशदेखि स्थानीय तहसम्मको सांगठनिक समायोजन तथा भ्रातृ संगठनहरूको व्यवस्थापनसम्बन्धी प्रस्तावमाथि विस्तृत छलफल भएको छ।

त्यस्तै, समान विचार भएका राजनीतिक शक्तिहरूसँग सहकार्यका लागि प्रस्ताव गरिएको ‘अग्रगामी मोर्चा’को स्वरूप र आधारबारे पनि कार्यकारिणी सदस्यहरूले आफ्ना धारणा राखेका छन्।

बैठकले आजै पार्टीको संसदीय बोर्ड गठन, कार्यकारिणी सदस्यहरूको कार्यविभाजन तथा पछिल्लो समय देशका विभिन्न भागमा बाढीपहिरो र अन्य विपद्बाट प्रभावित नागरिकका लागि राहत तथा सहयोग परिचालनबारे निर्णय गर्ने जनाइएको छ।

जसपा नेपालले संगठनको पुनर्संरचनासँगै आगामी राजनीतिक यात्राको स्पष्ट कार्यदिशा तय गरी त्यससम्बन्धी औपचारिक निर्णय आजै सार्वजनिक गर्ने जनाएको छ।