काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका सबै स्थानमा मोबाइल तथा इन्टरनेट सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ ।

भदौ १० गतेको बाढीका कारण प्रभावित १२० साइटमध्ये ८३ साइटको सेवा अवरुद्ध भएको थियो। तीमध्ये टिमुरे, चिलिमे खोला र त्रिशूली–३ ‘बी’ का तीन साइट पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए ।

टेलिकमका प्राविधिकले सुरक्षा निकायको समन्वयमा हेलिकप्टरबाट उपकरण, जेनेरेटर र इन्धन ढुवानी गरी साइटहरू सञ्चालनमा ल्याएका हुन् । भदौ १६ गते धादिङको कल्लेरी तथा नुवाकोटका विभिन्न साइट सञ्चालनमा आएसँगै सबै साइट सुचारु भएको टेलिकमले जनाएको छ ।