दोलखा– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि दोलखाको वैतेश्वर गाउँपालिकाले ७ लाख ७० हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

गाउँपालिकाको निर्णयअनुसार विपद् व्यवस्थापन कोषबाट २ लाख रुपैयाँ र गाउँपालिका जनप्रतिनिधि तथा कर्मचारीबाट संकलित ५ लाख ७० हजार सहित ७ लाख ७० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको हो ।

जनप्रतिनिधितर्फ गाउँ कार्यपालिका सदस्यबाट ८० हजार र गाउँसभा सदस्यबाट ८१ हजार रुपैयाँ तथा कर्मचारीबाट ४ लाख ९ हजार रुपैयाँ संकलन भएको गाउँपालिकाले जनाएको छ ।

बाढीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै गाउँपालिका अध्यक्ष छबि लामाले राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा आवश्यक सहयोग र समन्वय निरन्तर गर्ने प्रतिबद्धता जनाए । सुवाश बस्नेत/दोलखा