चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा रूख काट्ने र झाडी सफा गर्ने काम थालिएको छ ।
नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार आज ३३ जना रूख काट्न र झाडी फाँड्न परिचालन गरिएको छ । तीमध्ये चार जना सुपरभाइजर हुन् भने बाँकी मजदुर हुन् ।
बुधबारबाटै झाडी फाँड्न थालिएको भए पनि आज रुखसमेत काट्न सुरु गरिएको हो । भित्तो पट्टिको डाँडाको भागलाई सफा गरेपछि कहाँबाट बाटो खोल्ने भन्ने यकिन गर्न सकिने मिश्रले बताए।
दिनभरमा सफा गरिसक्ने अनुमान गरिएको छ । डाँडो सफा गरेपछि विज्ञहरूले हेरेसँगै कहाँबाट ट्याक खोल्न उपयुक्त हुन्छ । त्यसका लागि आवश्यक निर्देशनअनुसार काम अघि बढ्ने उनले जानकारी दिए ।
सडक विस्तारको काम गरिरहेको निर्माण कम्पनी शर्मा जेभीले सरसफाइ र रुख काट्ने काम गरेको हो । निर्माण कम्पनीले डाँडाको दुवैतर्फ एक्साभेटर तयारी अवस्थामा राखेको छ ।
मिश्रका अनुसार यो पहिलो डाँडो ८० मिटर हाराहारी चौडा छ । सडकबाट ३० मिटर अग्लाइमा पहिलो डाँडो छ । त्योभन्दा माथि अर्को डाँडो छ । झण्डै २०० मिटर लम्बाइको सडक भासिएर र चिरिएको छ । यहाँ १० मिटर फराकिलो सडक रहेको थियो ।
त्रिशूली नदीले फेदमा रहेको बलियो संरचनासमेत बगाएपछि सडक भासिएको हो । निर्माण कम्पनीका सञ्चालक सहदेव खड्काले नक्सांकन तयार भएसँगै काम गर्न तयारी अवस्थामा रहेको बताए।
भदौ १४ गते बिहान यो सडक भासिएसँगै राजधानीसँगको सडक सञ्जाल अवरुद्ध भएको छ । सरकारले यथासक्य छिटो सडक सञ्चालन गर्न आवश्यक निर्णय र निर्देशन दिई सकेको छ । भदौ महिनाभित्र वैकल्पिक मार्ग बनाउने गरी काम अघि बढाइएको हो । विसं २०५६ तिर यो सडकमा पटकपटक पहिरो खसेर दुःख दिएको थियो । यससँगै सडकलाइन मर्मत सम्भारपछि विसं २०६० यता सडकले दुःख दिएको थिएन ।
दुवैतर्फ कडा चट्टान छ भने भीरको बीच भागमा ६० देखि ७० मिटर भाग केही कमजोर रहेको इञ्जिनियर मिश्र बताउँछन्। सोही ठाउँमा समस्या आएको हो । गतवर्ष सोही सडकको छेउ पट्टीको भाग भासिएपछि मर्मत भइरहेको थियो ।
यसै क्रममा पूरै सडक भासिएको हो । यो सडक भासिएसँगै गोरखातर्फबाट वैकल्पिक मार्गको खोजी भइरहेको छ । गोरखा तर्फबाट धादिङका फरक–फरक ठाउँमा निस्कने थुप्रै मार्ग छन् । तीमध्ये उपयुक्तलाई मर्मत सम्भार गरी वैकल्पिक रुपमा प्रयोगमा ल्याउन लागिएको हो ।
भोटेकोशीको बाढीसँगै आएको लेदो र गेग्रयानले त्रिशूली नदीको कृष्णभीरसहित विभिन्न ठाउँमा क्षति पुर्याएको छ ।














