अनन्त यात्रामा ‘शब्दसागर’ सर्जक

काठमाडौं – नेपालकै सबैभन्दा ठूलो शब्दकोष ‘नेपाली शब्दसागर’का लेखक साहित्यकार वसन्तकुमार शम्र्मा नेपालको निधन भएको छ। उनको शनिबार दिउँसो २ बजे चाबहिल मैजुबहालस्थित आफ्नै निवासमा ९७ वर्षको उमेरमा निधन भएको हो। उनका छोरा विनयकुमार नेपालका अनुसार शर्मा फोक्सो र आन्द्रामा समस्या देखिएपछि पाँच महिनादेखि अस्वस्थ थिए। उनी ब्रेन स्ट्रोक, अल्सरलगायत रोगबाट पनि पीडित थिए।

२०५७ साल चैत ३० गते प्रकाशन भएको ‘नेपाली शब्दसागर’ त्यसबेला एक लाख २५ हजार शब्द थिए। विसं २०७० मा प्रकाशित यसको दोस्रो संस्करणमा शब्द थपेर एक लाख ४१ हजार पु¥याइएको थियो। ‘नेपाली शब्दसागर’ लेखनमा झण्डै १५ वर्ष बिताएका उनका साहित्य सम्बन्धी दर्जनौं पुस्तकहरू प्रकाशित छन्। उनले साहित्य धर्मशास्त्र, समाजशास्त्रमा शास्त्री, हिन्दी साहित्यमा साहित्य भुषण र नेपालीमा एमए र बीएडसम्मको अध्ययन गरेका थिए।

वि.सं. १९८४ मा काठमाडौंको महाराजगन्जमा पण्डित परिवारमा पण्डित दिवाकर शर्मा नेपाल र माता हेमकुमारी देवीको सन्तानका रूपमा वसन्त जन्मिएका हुन्। उनी अघि दुई छोरा जन्मिए पनि दुवैको निधन भएपछि उनी जन्मिएका थिए। त्रिभूवन विश्वविद्यालयका प्राध्यापक डा. अभि सुवेदी वसन्तलाई ठूलो साहस र जिम्मेवारी लिएर भाषाको ज्ञानको अध्ययन गर्ने व्यक्तिका रूपमा चित्रण गर्छन्। ‘उहाँ शब्दका अर्थको रूप पनि बुझ्न सक्ने र कुनै शब्द भेट्दा त्यसलाई केलाएर अध्ययन गर्नुहुन्थ्यो’, डा. सुवेदीले सम्झिए, ‘उहाँको शब्द संकलन शक्ति बेजोडको थियो। शब्दको पहिचान र शब्द संवेदना प्रष्ट बुझ्नुहुन्थ्यो।’

वसन्तसँगको भेटमा डा. सुवेदीले ‘नेपाली शब्दसागर’ लेख्न किन लामो समय लगाउनुभएको हो ? भनेर सोधेका रहेछन्। ‘कुनै पनि काम गर्न सावधानी चाहिन्छ। मैले त्यही सावधानी अपनाएँ। शब्द जस्तो विषयलाई सावधानी अपाउनुपर्छ’, वसन्तको भनाईं उदृत गर्दै डा. सुवेदीले सम्झिए, ‘त्यही कारण पनि समय लागेको हो भन्नुहुन्थ्यो।’ डा. सुवेदी शब्दकोष निर्माण गर्नु यान्त्रिक काम नभएकाले एक व्यक्ति लागेर नेपालकै ठूलो पुस्तक प्रकाशन गर्नु आफैमा चानचुने कुरा नभएको बताउँछन्।

साहित्यकार डा. ध्रुवचन्द्र गौतम वसन्तलाई नेपाली भाषाको विद्वान व्यक्ति मान्दछन्। गौतमका अनुसार राजधानीको चाबहिलस्थित पशुपति क्याम्पसको स्थापना हुँदा वसन्त संस्थापक र डा. गौतम संस्थापक सदस्य थिए। ‘उहाँ अनुसन्धान र परिश्रम गर्न हिचकिचाउनु हुन्न थियो। सधैं सक्रिय हुनुहुन्थ्यो। उहाँसँग मेरो गत वर्ष मात्र पोखरामा भेट भएको थियो’, डा. गौतमले भने, ‘उहाँ विद्वान मान्छे हो। भेट्ने भन्दा भन्दै भेट हुन सकेन।’

वसन्तले नेपाली भाषा प्रकाशिनी समिति र भाषानुवाद् परिषद्मा बृहद् नेपाली शव्दकोषका सहायक सम्पादक, संक्षिप्त संस्कृत–नेपाली शव्दकोषका सम्पादक, तत्कालीन नेपाल प्रज्ञा प्रतिष्ठान गद्यसाहित्य विभाग, विदेशी साहित्यकार सम्पर्क समितिका सचिव र चित्रकला विभागमा सहायक सचिव भएर काम गरेका थिए।

उनी विश्वबन्धु पुस्तकालय २००४–१२ (कान्ति सांस्कृतिक केन्द्र) का संस्थापक सचिव र अध्यक्ष, अखिल नेपाल पुस्तकालय संघका संस्थापक सदस्य–सचिव, संस्कृत छात्रसंघीय अध्यक्ष, अग्रगामी साहित्यिक मण्डलका संस्थापक सदस्यसचिव, नेपाल फुटबल संघका संस्थापक सदस्य, ‘जयन्ती’ साहित्यिक मासिकका संस्थापक सम्पादक, नेपाल नाटक संघका संस्थापक–सचिव र निर्देशक, चारु मित्र चौतारी समूहका सदस्य, नवजीवन बुद्ध सेवा संघका संरक्षक पनि थिए।

नेपाली शिक्षा परिषद्का संस्थापक शिक्षकसमेत रहेका वसन्त रत्नराज्यलक्ष्मी क्याम्पसका संस्थापक सचिव र प्राध्यापक, पशुपति बहुमुखी क्याम्पस चाबहिलका संस्थापक, सदस्य–सचिव र क्याम्पसप्रमुख पनि थिए।नेपाल सरकारको पाठ्यक्रम परिमार्जन समितिमा पटक–पटक १ देखि १० कक्षा सम्मको नेपाली पुस्तकको परिमार्जनमा उनको योगदान उत्तिकै थियो।

वसन्तका ‘युगको वारिस (लघुनाटक)’, ‘विधवा विवाह (खण्डकाव्य)’, ‘एक्काईस कथा (कथासंग्रह)’, ‘हँसिला कथा (बाल कथासंग्रह)’, ‘मित्रको पत्र (नव्यकाव्य)’, ‘आधुनिक नेपाली निबन्ध (निबन्ध संग्रह)’, ‘संक्षिप्त नेपाली व्याकरण (व्याकरण)’, ‘महेन्द्रमाला ६, महेन्द्र माला ९ र १० (पाठ्य पुस्तक सहलेखन)’, ‘रत्नावली (नाटक)’, ‘शकुन्तला (नाटक)’, श्रीमद्भगवद्गीता (अनुवाद)लगायतका कृति प्रकाशित छन्।

उनी मेक्सिम गोर्कीको कृति ‘आमा’को अनुवाद गरेको रुस सरकारबाट पुरस्कृत भइसकेका थिए। उनले ‘शिक्षासेवा नगद पुरस्कार’, ‘गुणराज व्याख्यान पुरस्कार’, ‘हेमराज पुरस्कार’, वीरेन्द्र ऐश्वर्य सेवा पदक’, ‘राष्ट्रिय व्यक्तित्व सम्मान’, ‘सुप्रवल गोरखा दक्षिणबाहु’, ‘देवकोटा काव्य सम्मान’, ‘मदन पुरस्कार स्वर्ण वर्ष सम्मान’, ‘महाकवि देवकोटा शताब्दी सम्मान’लगायतका सम्मान तथा पुरस्कारबाट पुरस्कृत भइसकेका छन्। उनको शनिबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनको श्रीमतिसहित तीन छोरी र चार छोरा छन्।