काकाकुल बस्ती र मेरा मान्छेहरु

अशोक विश्वकर्मा, भिमाद ८ टोड्के

ashok bishwakarma (1)
तनहुँकै एक सुन्दर बस्ती लाग्छ भिमाद नगरपालिका ८ टोड्के । अधिकाँशलाई कतै सुनें सुनें जस्तो लागेपनि कमैलाई थाहा छ टोड्के र यहाँका नागरिकहरुको कथा…दैनिक भोग्ने भोगाईहरु । लुकेर बसेको अर्थात आफ्नै परिचय खुल्ला रुपमा दिन नचाहेको जस्तो लाग्ने टाड्के प्राकृतिक बन जंगल र उर्वरभूमिले भरिएको ठाउँ हो ।
विगत वि.स. २०२० भन्दा पहिला देखि वि.स. २०५० सालसम्म सवैलाई प्रिय र रमाइलो लागेको यो गाउँ अहिले एकाएक बन–जंगलमा परिणत भएको छ । मुस्किलले ३५ घरधुरी एकठाँउमा मिलेर बसेको गाउँ पहाडिया संस्कृति जोगाउने प्रमुख थलोको रुपमा परिचित थियो ।

ujad gau
यहाँका तत्कालिन युवायुवतिहरुको मानसपटलमा अझै पनि ति रोधिघर र मादलुको तालसँग बैशमा साटिएका माया पिरतीका रमाइलो किस्साहरु ताजै छन् । उमेर र समय अनि अवस्था सधै उस्तै कहाँ रहन्छ र यही माटोको सुगन्ध र हिलो मैलोको साथसँगै छुटेको मनहरु अहिले संसारका अधिकाँश देशमा पुगेका छन् ।
मन नछोडिए पनि बाध्यतासँगै तन छुटेर विराना बनेकाहरुले विहानी घामको पहिलो झुल्कोसँग माछापुच्छ«े हिमालसहित टलटल टल्किएका हिमशृङ्खलाले नछोड्ने साथबाट केही सिक्नु जरुरी छ । जहाँ रहे पनि गैह्राबाट पानी बोकेका, मेलापात गरेका र माहारा जाँदाको झल्कोहरु त अझै पनि आउँछ होला । गाउँका मानिस र त्यो हावा, पानी र वातावरण कसोरी विर्सन सक्नुभयो होला र ।
गाउँको अवस्था विकुल्कै परिवर्तन भएका छन् । खटिरा आएर विरामी पर्नेको बदनबाट निस्किएका पाप्रा झै घरका भित्ताहरु कुरुप बनेका छन् । कोरोनाका कारण हेर्दा हर्दा प्राण त्यागेका विरामीझै यहाँका ति शुन्दर महलहरु पलपलमा ढलिरहेका छन् । उर्बरभूमि बाँझिएर बनमाराले स्थान लिएको छ । गाई बाख्रा र भैसी बाँध्ने हाम्रा गोठहरुमा आजभोलि त जंगली जनावरहरु बस्न थालेका छन् रे ।
याद छ कि नाई ? पानि लिन जाँदा बाटो बाटोमा टिप्न पाइने काँडे धनियाँ र त्यो आँपको रुख । अझै त्यस्तै छ, तर टिपेर खाइदिनेहरु छैनन् गाउँमा । एउटा पुरातात्विक महत्व बोकेको कोहोलडाँडाका कोहोल ढुँगामा पनि खिया लागेको होला, झाडीले ढाकेको होला ।
अनि कालो पाटीमा कखरा पढेको त्यो स्कुल पनि बन्द भएछ । किन नहोस पढ्न जाने विद्यार्थी नै नभएपछि अनि विद्यालयका पक्षमा लागेर बोल्ने मर्द कोही नभएपछि । भाईबैनाको स्कुल जाने बाटो पनी ओरालो लागेको छ, हामी त उकाली चढेर जाने गर्थेउ ।
हामी लाखे हेर्न जाने छिमेकी गाउँमा त कस्तो मज्जाले मोटर गाडी चल्ने भईसकेछ तर पनि भौगोलिक रुपमा मिलेको मेरो गाउँमा अझै राम्रो सडक पुग्न सकेको छैन । केही दुरी हिडेरै भिमाद बजार र खैरेनीटार शहरमा आउने मेरा मान्छेहरु त गाउँमै गाडी चढेर बजार झर्न पाउदैनन् कि जस्तो लाग्छ ।
यस क्षेत्रकै कर्णाली जस्तो लाग्ने मेरो गाउँमा अझै पनि नेताको नजरिया नपुगेको देख्दा उदेक लाग्दछ । मत माग्न समेत जादैनन अचेल नजर किन पुथ्यो र, हाम्रा मान्छे त सोझो रैछन घण्टौँ हिडेर पनि उसैलाई मत दिन जाने ।
गाउँ त समयसँगै फेरियो, यहाँका अवस्था झन झन दयनीय अवस्था बनेर फेरिएका छन् । तर एउटा समस्या भने कहिल्यै पनि फेरिएका छैन÷रैनछ…..छाङ्गादीको खानेपानी । राति राति बनाएर खाएको पानी त अझै पनि यहाँका नागरिकले यसरी नै बनाएर खानुपर्ने रैछ नि ! बर्खामा धमिलो आउने पानी कहिले काँही त अमिलो बनेर आउने गर्छ रे धारामा, खै के के मिसिएर हो ।
विहानै गाउँका दाईसँग भेट भयो सामान्य हालखबर बुझेपछि फेरी सुरु भयो त्यहि पानीको कहानी । गाउँमा धमिलो रंगको अमिलो पानी खानुपर्ने मेरा मान्छेहरुको कहानीले मनै कस्तो अमिलो बनायो । सुखको खोजीमा गाउँ छोडेपछि हाम्रा गाउँ हाम्रो बारी र बन जंगल छिमेकीले गौचरण बनाएछन् । परिवर्तनको आशासँगै गाउँको माया चटक्कै मार्न नसकेका ति हाम्रा मान्छेले लगाएको बालीमा समेत छिमेकीका गाईगोरुले रमिता देखाउछ रे । आजित भएकी साइली आमाले त मुखै फोरेर अन्याय भयो भन्नुभएको के थियो । गाउँमा ४ दिन पानी आउन छाडेछ ।
बल्लतल्ल बनाएपछि फेरि धारामा पानि आउन थालेको छ भन्दै हुनुहुन्थ्यो । सयौँ बर्षदेखि त्यति धारामा आएका पानी स्थायी रुपमा कहिले आउँछ कुन्नी । शासक र सामन्तको पञ्जाबाट मेरा मान्छेहरुले कहिलेबाट दवाव मुक्त भएर पानि पिउन पाउँलान् ? अव आफ्नै अग्रअधिकार प्रयोग गरेर पानी आफ्नै बनाउनुपर्ने दायित्व शिरमा थपिएको छ ।
अन्याय विरुद्ध बोल्नुपर्ने दिन कहिलेसम्म प्रतिक्षा गर्ने हो र अव पनि ? यही गाउँको ढुँगा र माटोसंगै बालापन विताएकाहरु अब गाउँको ति दिनहरु फर्काउने गरि लाग्ने दिन आयो कि । संसारको जुन कुनामा रहे पनि नाभि गाडिएको ठाउँ त सवैका लागि प्यारो लाग्दो रहेछ ।
फर्किर अव त्यही माटो चलाउन अनि त्यहो गोरेटो र बाटोहरु बनाउन आवश्यक छ । बरभञ्ज्याङ र बाटाका चौतारीहरुले अझै पनि मलाई र तपाईहरुलाई कुरीरहेका छन्, अनि समयको अन्तरालसँगै तिर्खाएर काकाकुल बनेका टोड्केले बोलाईरहेको छ । आउनुहोस फेरी मेलापातसँगै गरेर त्यही गित सुन्दै गाउँको मुहार फेरौँला । …..फर्क मुग्नाली मेलापात गरेनी खान पुग्लानी…….. …………………… ।

खटिरा आएर विरामी पर्नेको बदनबाट निस्किएका पाप्रा झै घरका भित्ताहरु कुरुप बनेका छन् । कोरोनाका कारण हेर्दा हर्दा प्राण त्यागेका विरामीझै यहाँका ति शुन्दर महलहरु पलपलमा ढलिरहेका छन् ।
गाउँमा धमिलो रंगको अमिलो पानी खानुपर्ने मेरा मान्छेहरुको कहानीले मनै कस्तो अमिलो बनायो ।

 

लेखक अशोक विश्वकर्मा

(लेखक विश्वकर्मा भिमाद ८ टोड्केका स्थानीय हुन्)