निर्वाचनको सुरक्षा तयारी पूरा : गृह मन्त्रालय

काठमाण्डौं । प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ । निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।

सुरक्षा व्यवस्थामा कहीं कतै कमजोरी नहुने भन्दै सुवेदीले ढुक्क भएर मतदाता मतदान केन्द्रसम्म पुग्ने वातावरण रहेको बताए । प्रदेश नं २ का आठ जिल्ला बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा पर्सी सोमबार एकसय ३६ स्थानीय तहको निर्वाचन हुँदैछ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसनधान विभाग गरी करिब ६० हजार सुरक्षाकर्मी निर्वाचनमा परिचालन गरिने सुवेदीले जानकारी दिए । आवश्यक परे यो संख्या बढ्नसक्ने उनले बताए । सुवेदीका अनुसार निर्वाचनको समयमा सुरक्षा निकायले तीन घेरामार्फत सुरक्षा प्रदान गर्नेछ । जसअनुसार पहिलो भित्री घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहनेछ । राष्ट्रिय अनुसन्धान विभागलाई भने सूचना संकलनमा परिचालन गरिने भएको छ ।

विशेषतः २ नम्बर प्रदेशको निर्वाचनमा सिके राउत समूह र निर्वाचन बहिष्कार घोषणा गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सुरक्षा चुनौतीको रुपमा लिइएको छ ।

सैबीच, निर्वाचनलाई मध्यनजर गर्दै गएराति १२ बजेदेखि नै निर्वाचन हुने आठ जिल्लामा भारतसँग सीमा जोडिएका क्षेत्रमा सीमा नाका बन्द गरिएको छ । निर्वाचन हुने समयभन्दा ७२ घण्टा अघिदेखि निर्वाचन हुने सीमा जोडिएका जिल्लामा नाका बन्द गरिएको गृहमन्त्रालयले जनाएको छ । प्रदेश २ का यि आठ जिल्ला भारतसँग सीमा जोडिएकाले सीमामा केही दिनदेखि नै विशेष निगरानी बढाइएको थियो । खुला सीमाको फाइदा उठाउँदै हतियार, विस्फोटक पदार्थ तथा आपराधिक समूह भित्रिनसक्ने हुनाले नाका बन्द गरिएको हो ।

यस्तै, निर्वाचनलाई मध्यनजर गर्दै धनुषामा एउटा र बारा–पर्साको बीचमा एउटा गरी दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिएको गृहमन्त्रालयले जनाएको छ । नेपाली सेनाको बाहिनी र केन्द्रमा समेत थप हेलिकप्टर तयारी अवस्थामा राखिएको गृह प्रवक्ता सुवेदीले जानकारी दिए ।

तेस्रो चरणको निर्वाचनमा छ हजार ६ सय पदका लागि ३६ हजार ३ सय १८ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका रहेको २ नम्बर प्रदेशमा जम्मा २६ लाख ९ सय ५० मतदाता र तीन हजार ५ सय ७८ मतदान केन्द्र रहेका छन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment