सुरज श्रेष्ठ सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित, पुरस्कार रकम सहारा एकेडेमीलाई

तारा पौडेल/पोखरा । यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट अनलाईन, रेडियो तथा टेलिभिजनकर्मी सुरज श्रेष्ठ सम्मानित भएका छन् । सहारा क्लब पोखराले विगत ११ बर्ष देखि निरन्तर प्रदान गर्दै आएको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट यस बर्ष पत्रकार श्रेष्ठलाई शुक्रवार सम्मान गरिएको हो ।

पोखराबाट सञ्चालित अनलाईन पत्रिका सिटीपोखरा डट कम(citypokhara.com)का टिम मेम्वर तथा पोखरा एफ एमका संवाददाता एवं प्रस्तोता समेत रहेका श्रेष्ठले पोखरा टेलिभिजनमा विगत २ बर्ष अगाडी देखि कार्यक्रम संयोजकको भुमिका निभाउदै आएका छन् । सम्मानित श्रेष्ठ विगत डेढ दशकदेखि पोखरामा रहेर पत्रकारिता गरेका छन् ।

सहारा क्लब पोखराको १९ औं बार्षिकोत्सव तथा १० औं अधिवेशनको अवसरमा प्रदान गरिएको उक्त पुरस्कारको राशी नगद १५ हजार ५ सय ५५ रुपैयाँ, ताम्रपत्र र दोसल्ला रहेको छ ।

कार्यक्रमका प्रमुख अथिती युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरा खेलको उर्वरभूमि भएको बताउँदै खेल विकास तथा खेलाडी उत्पादनमा मेहनतका साथ लाग्नुपर्ने भनाई राखे ।

सम्मानित व्यक्तित्व सुरज श्रेष्ठले कामको मुल्यांकन गरी सहारा क्लवले आफुलाई सम्मान गरेकोमा आभार व्यक्त गर्दै पत्रकारितामा लाग्न थप हौसला मिलेको बताए । उनले सहारा क्लव खेल विकासमा मात्र नभई देशभित्र तथा बाहिर रहेका नेपालीहरुलाई पनि गोलबद्ध हुनको लागि समन्वयकारी भूमिका निर्वाह गरेको भनाई राखे । उनले प्राप्त पुरस्कार रकममा केहि रकम थप गरी २० हजार रुपैयाँ आज नै सहारा एकेडेमीलाई हस्तान्तरण गरेका छन् ।

प्रतिभा छनौट समितिमा संयोजक नारायण कार्की, पत्रकार महासंघ,कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पश्चिमाञ्चल क्षेत्रीय फुटबल संघका अध्यक्ष खेमबहादुर गुरुङ्ग, कास्की जिल्ला खेलकुद विकास समितका अध्यक्ष यमबहादुर गुरुङ्ग, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक, क्लबका सल्लाहकार सभापति विक्रम थकाली, अध्यक्ष वीरभद्र आचार्य, वरिष्ठ उपाध्यक्ष केशब बहादुर थापा र महासचिब केशबराज बराल समेतको ९ सदस्यीय प्रतिभा छनौट समितिले गरेको सिफारिसको आधारमा श्रेष्ठलाई सम्मान गरिएको हो ।

उक्त पुरस्कारले खेलकुद पत्रकारितामा थप टेवा पुग्ने उद्धेश्यले आफुहरुले पुरस्कारलाई निरन्तरता दिदै आएको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए ।

उक्त पुरस्कारको निम्ति कास्की जिल्लालाई कार्यक्षेत्र बनाई कम्तिमा पनि ५ बर्ष निरन्तर पत्रकारिता पेशामा आबद्ध भएको, प्रतिभा छनौट समितिका सदस्य पुरस्कारको निम्ति योग्य नहुने, खेलकुद पत्रकारिता (विट जर्नालिज्म) लाई उच्च प्राथमिकता दिएको छापा वा विद्युतिय पत्रकारितामा संग्लन हुनुपर्ने मापदण्ड निर्धारण गरेको थियो ।

२०६३ सालमा स्थापित सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट हालसम्म कुलचन्द्र न्यौपाने, २०६४ धन बस्नेत, २०६५ विनोद लामिछाने, २०६६ प्रेम नारायण न्यौपाने, २०६७ राम गुरुङ्ग, २०६८ दीननाथ बराल, २०६९ प्रदिप पौडेल, २०७० एकराज गिरी, २०७१ सागरराज तिमिल्सिना, २०७२ मा, कृष्णमणि बराल र २०७३ मा एम बि आस्था मगर यस पुरस्कारबाट पुरस्कृत भई सकेका छन ।

क्लवले आफ्नो बार्षिकोत्सवको अवसरमा भदौ २८ गते बसपार्क सरसफाई गर्ने र भदौं २९ गते खुल्ला रक्तदान कार्यक्रम गरेको थियो ।

तस्वीर सौजन्य:सञ्जय शाक्य

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment