युनाईटेड क्लवद्धारा कुष्ठ प्रभावितहरुलाई खाद्यान्न सामाग्री वितरण

पोखरा, २ वैशाख ।

युनाईटेड क्लवले कुष्ठ प्रभावितहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । युनाईटेड क्लवले आफ्नो नवौ वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्तर्गत दोश्रो दिन सोमबार पोखरा १५ टुटुङगामा रहेको नेपाल कुष्ठ रोग निवारण संघ पोखरा आरोग्य आश्रममा आश्रित रहेका १४ जना प्रभावितहरुलाई खाद्यान्न सामाग्री सहित फलफुल वितरण गरेको हो ।

स्थापना कालदेखी पोखरामा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको क्लवले आफ्नो नवौ वार्षिकोत्सव वैशाख ७ लाई लक्षित गरी साता भरी आफ्नो सामाजिक कामका क्षेत्रहरुमा सहयोग गर्ने क्रममा सोमबार पोखरा १५ टुटुङगामा आश्रित कुष्ठ प्रभावितहरु १४ जनालाई खाद्यान्न सामाग्री प्रदान गरिएको कार्यक्रम संयोजक तथा क्लवका सह कोषाध्यक्ष निर्मला लामिछानेले जानकारी दिइन ।

सो अवसरमा नेपाल कुष्ठ रोग निवारण संघ पोखरा आरोग्य आश्रमका अध्यक्ष नारायण शर्माले युनाईटेड क्लवले स्थापना कालदेखीनै सामाजिक काम गर्दै आइरहेको सन्दर्भमा नवौ वार्षिकोत्सवको अवसर पारी पोखरा आरोग्य आश्रममा सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिन आग्रह गरे ।

युनाईटेडले सामाजिक काम संगै पोखराको लेखनाथ स्थित पचभैयामा नया पर्यटकीय गन्तब्य चिडियाखानाको निर्माण शुरु गरेको र यसले पोखराको पर्यटन उद्योगमा थप टेवा पुर्याउने भएकाले आफुहरुको संस्थाबाट समेत क्लव संग सहकार्य गरी पोखराको बिकासमा लाग्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।

त्यसैगरी क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लव विशुद्ध सामाजिक काम गर्ने क्लव भएकाले सम्पूर्ण पोखरेलीको साथ र सहयोगलेनै क्लवले आफ्नो नवौ वर्ष सम्म आइपुगेको वताउदै आगामी दिनमा पनि आफुले लिएको लक्ष्यमा अगाडी वढ्ने वताए ।

क्लवले नवौ वार्षिकोत्सवको अवसरमा सेती नदी संरक्षण बारे वृहत अन्तरक्रिया, विभिन्न सामुदायिक विद्यालयहरुमा पोशाक र शैक्षिक सामाग्री वितरण लगायतका कार्यक्रमहरु साताब्यापी रुपमा गरिने क्लवका अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए ।

क्लवका महासचिव शान्त बहादुर थापाले सञ्चालन गरेका कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए ।