फागुन २७देखि रिभान चौर नाथु प्रल्हाद ङेह्रोंपैंगिलामा परिवारको रजत जयन्ती

पोखरा ।

रिभान चौर नाथु प्रल्हाद ङेह्रोंपैंगिलामा परिवार कास्कीले विविध कार्यक्रम गरी फागुन २७, २८ र २९ गते रजत जयन्ती मनाउने भएको छ।

पोखरा २५ याम्दीस्थित सुब्बा नाथु प्रल्हाद स्मृति भवनमा आयोजना हुने रजत जयन्ती समारोह २०७५ मा सुब्बा नाथु, सुब्बा प्रल्हादको शालिक अनावरण, झण्डोत्तलन, विभिन्न सम्मान, शुभकामना आदान प्रदान, एबीसी टेलिभिजनमा प्रसारण हुने इन्द्रेणी कार्यक्रमका कलाकारहरुद्धारा साँस्कृतिक प्रस्तुति, भोजसहितका विविध कार्यक्रम गरी मनाउने आइतवार पोखरामा पत्रकार सम्मेलन गरी परिवारका अध्यक्ष अनरेरी क्याप्टेन डम्बरबहादुर गुरुङले जानकारी दिनुभयो।

फागुन २७ गते रजतजयन्ती समारोहको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङबाट उद्घाटनसँगै राष्ट्रिय झण्डा, १८७२ बैशाख ६ गते नेपाली राष्ट्रियताका निम्ती राजगढको युद्धमा बीरगति प्राप्त पश्चात सुब्बा प्रल्हादको सम्मान स्वरुप प्रदान गरिएको निशान र रिभान चौर नाथु प्रल्हाद ङेह्रोंपैगिलामा परिवारको झण्डोत्तन गरिने भएको छ। यसरी नै स्मृति भवन परिसरमा प्रतिस्थापन गरिएको सुब्बा नाथु र सुब्बा प्रल्हादको शालिक अनावरण, परिवारको संस्थापक कार्यसमिति, समाजमा लामो सेवा प्रदान गरेका महानुभावहरुलाई दिर्घसेवा सम्मान, परिवारको समृद्धिका लागि विशेष योगदान पुर्याउनुभएका महानुभावहरुलाई समेत सम्मानका साथमा इन्द्रेणी समुहबाट साँस्कृतिक प्रस्तुति गरिने भएको छ।

यसरी नै २८ र २९ गते विविध साँस्कृतिकका साथ विविध कार्यक्रम हुने र महोत्सवको समापन २९ गते पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङ गर्नुहुने भएको छ। नेपाली राष्ट्र र राष्ट्रियताका निम्ती नेपाल एकिकरण, अग्रेंजसँगको लडाई, भोटसँगको लडाई बीरता प्रदर्शन गरेका पुर्खाहरु सुब्बा नाथु सुब्बा प्रल्हाद गुरुङलाई राष्ट्रिय विभुतिको सम्मान दिनुपर्ने माग अध्यक्ष गुरुङको थियो।

लोक साँस्कृतिक कार्यक्रम मार्फत राज्यलाई झकझकाउनकै निम्ती पनि परिवारले कृष्ण कंडेलसहितको इन्द्रेणी साँस्कृतिक समुहलाइ कार्यक्रममा आमन्त्रण गरिएको उहाँले जानकारी दिनुभयो। रजतजयन्तीकै अवसरमा इन्द्रेणी समुहले रिभान र चौर गाउको चिनारी एवं ऐतिहासिकता झल्कने म्युजिक भिडियो समेत छायाँकन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।
रजतजयन्ती समारोहका लागि देश विदेशमा रहेका भाई परिवार र चेलीबेटीहरु पोखरा आउने क्रम रहेको बताउनुहुदै अध्यक्ष अ.क्या. गुरुङले रजतजयन्ती सम्पन्न गर्नका लागि परिवारकै भाईहरु र चेलीबेटीको मन फुकाएर सहयोग गरेको बताउनुभयो।

२०५१ सालमा स्थापित रिभान चौर नाथु प्रल्हाद ङेह्रोंपैंगिलामा परिवार कास्कीले याम्दीमा स्मृति भवन निर्माण, संग्रहालय बनाई पुर्खाको अस्त्र संरक्षण, बंशावली(बंशवृक्ष) दुइवटा भाग प्रकाशन, परिवार संगठित तथा एकता, विभिन्न सम्मान लगायत सामाजिक कार्यहरु गर्दै आइरहेको अध्यक्षले जानकारी दिनुभयो।

 

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment