पेट्रोलको भुक्तान विद्युतीय कारोबार आइ.एम.इ.पे मार्फत हुने

 पोखरा ।

गण्डकी धौलागिरी पेट्रोलियम डिलर एशोसियशनसंग आवद्ध भएर साविकको गण्डकी धौलागिरी अञ्चल अन्तरगतका विभिन्न जिल्लाहरुमा सञ्चालित पेट्रोल पम्पहरुमा अबदेखि पेट्रोलको भुक्तान विद्युतीय कारोबार आइ.एम.इ.पे मार्फत हुने भएको छ ।

गण्डकी धौलागिरी पेट्रोलियम डिलर एशोसियशन र आइ.एम.इ पे बीच सम्झौता भएपछि यो व्यवस्था लागु हुने भएको हो । सम्झौतामा आइ.एम.इ पेका तर्फबाट आइ.एम.इ ग्रुपका जनसम्पर्क व्यवस्थापनका प्रमुख राजु पौडेल तथा गण्डकी धौलागिरी पेट्रोलियम डिलर एशोसियशनका तर्फबाट अध्यक्ष राजन गोंगजुले हस्ताक्षर गरेका हुन् ।

सम्झौता हस्ताक्षर भएको दिनबाट २ वर्षसम्म कायम हुने भएको छ । सम्झौतापछि कार्यक्रममा बोल्दै प्रमुख पौडेलले यो क्षेत्रका ५४ वटा पेट्रोल पम्पबाट सेवा लिन सकिने जानकारी गराएका छन् ।

अहिलेसम्म १७ वटा पम्पहरुसंग यो सेवाका लागि सम्झौता गरिएको र एक हप्ताभित्रमा पोखराका सबै पम्पहरुबाट सेवा प्रदान गरिने उनले कार्यक्रममा बताएका छन् । यस्तै गण्डकी धौलागिरी पेट्रोलियम डिलर एशोसियशनका अध्यक्ष राजन गोंगजुले कार्यक्रममा बोल्दै आफुहरुले पेट्रोलको भुक्तान आइ.एम.इ.पेमार्फत गरेर सरकारले अगाडि सारेको स्मार्ट सिटीको अवधारणालाई सहयोग गरेको बताए ।

स्मार्ट सिटीको अवधारणालाई सर्पोट गर्ने उनको भनाई रहेको थियो । नेपाललाई क्यासलेस बनाउने आफुहरुको उद्देश्य रहेको समेत उनले बताएका छन् । क्यासलेस नेपाल निमार्ण गर्न सके विभिन्न अपराधिक घटनामा समेत कमी आउन सक्ने धारणा उनले कार्यक्रममा व्यक्त गरे ।

हाल यो अफर पेट्रोलका लागि मात्र भएको समेत आइ.एम.इ पेका विजनेस डेभलपमेन्ट अफिसर आज्ञा बस्नेतले जानकारी दिएकी छिन् । यो सेवा काठमाडौँबाट सुरु भएको र पोखरामा ल्याइएको उनको भनाई रहेको थियो । यो सेवा प्राप्त गर्नका लागि कुनै पनि स्मार्ट फोनमा आइ.एम.इ.पे एप्स डाउनलोड गर्नुपर्ने र एप्समा पैसा लोड गरेर बिल पे गर्नुपर्ने बस्नेतको भनाई छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment