सातौँ वालिङ महोत्सवको प्रचण्डले उद्घाटन गर्ने,मेलाको तयारी अन्तिम चरणमा

पोखरा ।
सातौँ वालिङ महोत्सव २०७५ एवम् गण्डकी प्रदेशस्तरीय औद्योगिक, कृषि, पर्यटन, साँस्कृतिक तथा व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।माघ १७ देखि २८ गतेसम्म वालिङ खेलमैदानमा ‘हाम्रो गौरव, हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन हुने वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव आयोजक मूल समिति संयोजक शोभाकान्त पौडेलले बताउनु भयो ।

महोत्सवको नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको संयोजक पौडेलले जानकारी दिनुभयो ।उहाँले वालिङ महोत्सव समग्र स्याङ्जा जिल्लावासीको गौरव र पहिचान भएको साथै बालकदेखि बृद्धसम्मलाई लक्षित गरी आयोजना गरिएको बताउनुभयो ।

प्रत्येक दुई वर्षको अन्तरालमा वालिङ उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको महोत्सव यसपटक उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको हो ।संघका सचिव एवं प्रचारप्रसार तथा कलाकार, साउण्ड सिष्टम व्यवस्थापन उपसमितिका संयोजक पदमराज गुरुङले प्रचारप्रसारको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो ।

संघका वरिष्ठ उपाध्यक्ष एवम् सहसंयोजक अर्जुनप्रसाद खनालले मूल आयोजक समितिसहित ३१ उपसमिति बनाइएको र ४ सय बढी स्टल रहने जानकारी दिनु भयो ।संघका महासचिव एवं सचिवालय व्यवस्थापन, छपाइ तथा प्रकाश संयोजक केशरबहादुर खाँणले महोत्सव पर्यटकीय दृष्टिकोणबाट महोत्सव सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

टिकट तथा पास व्यवस्थापन समितिका संयोजक टिकाराम लुईटेलले महोत्सवको अवलोकनको लागि साधारणतर्फ १ सय र विद्यार्थीका लागि ७० रुपैँया को टिकटको व्यवस्था गरिएको बताउनुभयो ।१२ दिन सम्म सञ्चालन हुने महोत्सवमा १५ करोडभन्दा बढीको व्यापारिक कारोबार गर्दै ५ लाख बढी दर्शक भित्र्याउने लक्ष्य रहेको अध्यक्ष पौडेलले बताउनुभयो ।

महोत्सवमा विभिन्न प्रदर्शनी, साँस्कृतिक तथा चेतनामूलक कार्यक्रम, बाल उद्यान, हेलिकोप्टर यात्रा, जलयात्राका साथै प्याराग्लाइडिङ समेत मुख्य आकर्षणका रुपमा रहने जनाइएको छ ।

महोत्सव सम्पन्न गर्न १ करोड ५० लाख ५१ हजार १ सय ११ रुपैँया खर्च हुने संघले अनुमान गरेको छ । ६० लाख बचत गर्ने लक्ष्य रहेको महोत्सवमा प्रति टिकटको ५ रुपैयाँ व्यवसायिक हितकोषमा जम्मा गर्ने र १ रुपैँया खेलमैदानको व्यवस्थापन गर्ने साथै बचत रकमबाट निर्माणाधीन बहुउद्देश्यीय सामुदायिक भवनको विकास र नयाँ सचिवालय भवन निर्माण गर्ने संघले जनाएको छ ।

 

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment