कहिले सुध्रिन्छ त्रिवि परीक्षा नियन्त्रण कार्यालय ?

आदित्य दाहाल
त्रिभुवन विश्वविद्यालय, देशभरीका अधिकांश विद्यार्थीहरुकोे भविष्य जोडिएको ठाँउ हो । देशको पुरानो विश्वविद्यायको रुपमा परिचित यस विश्वविद्यालयबाट मान्यताप्राप्त देशका विभन्न भूभागमा सोही अन्र्तगतका क्याम्पसहरु सञ्चालनमा छन् ।
त्रिविबाट सम्बन्धन प्राप्त क्याम्पसहरुका विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्र लिने ठाउँ भनेको त्रिविका विभिन्न शाखा मध्येको बल्खु स्थीत परिक्षा नियन्त्रण कार्यालय (पनिका) हो ।

परीक्षा नियन्त्रण कार्यालयले संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० मा रहेर विद्यार्थीहरू तथा संगठनभित्रका थुप्रै कार्य गर्ने गर्दछ । यस शाखालाई जिम्मेवारीको हिसाबले विद्यार्थीसँग सवैभन्दा नजिक रहेर विद्यार्थीहरूको कार्यसम्पादन गर्नुपर्ने केन्द्र भनेर बुझ्न सकिन्छ ।

यतिधेरै जिम्मेवारी बोकेको परीक्षा नियन्त्रण कार्यालय भने विद्यार्थीहरूले सधैंको सास्ती खेप्ने थलोको रुपमा परिचित छ । परीक्षा नियन्त्रण कार्यालयकै गल्तीका कारण विद्यार्थीले हैरानी मात्रै खेप्नुपरेको छैन उनीहरूको भविष्य नै अन्योलमा पर्ने गरेको छ ।

स्नातक तह होस् या स्नाकोत्तर तह पास गरेर आफ्नो ट्रान्सक्रिप्ट लिनको लागि पनिका बल्खु पुग्ने जो कोही विद्यार्थीहरूले अथाहा सास्ती खेप्ने गरेका उदाहरण प्रसस्त भेटिन्छन् । दिनभरिको लामो लाइन बसेर पालो आएपछि कर्मचारीले सजिलै मिलाउ सक्ने सानो गल्लीलाई पनि पहाड बनाएर अर्को दिनको भाका राख्दै फिर्ता पढाउछन् ।

पनिकाबाट हुने कार्यहरू ट्रान्सक्रिप्ट वितरणको हैरानी त छँदैछ पनिकाको गल्तीका कारण रेजिस्ट्रेसन नम्बर गलत आउँदा तथा उत्तरपुस्तिका अन्य हराउनु लगाएतका थुप्रै हैरानी विद्यार्थीले नै खेप्ने गरेका छन् ।

केही साताअघि प्राप्तांकमै त्रुटि भएको भन्दै पनिका पुगेका केही विद्यार्थीहरूले यस कार्यालयलाई नर्कको उदारहण दिँदै कसैलाई ठुलो श्राप दिनुपर्दा यसको परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा काम परिजाओस् भने पुग्छ भन्दै व्यांग्यात्मक शैलिमा अभिव्यक्ति दिएका थिए । जुन यर्थाथ पनि छ, काम परेर यस कार्यालयमा आउने जो कोहीले सजिलै काम होला भनेर चिताउनु बेकार छ ।

देशको सबैभन्दा पुरानो यस त्रिभुवन विश्वविद्यालयमा बेथितिको जालो वर्णनगरि साध्य छैन । अझै त्रिविकै परीक्षा नियन्त्रण कार्यालय बल्खु त विद्यार्थीहरूको ट्रान्सक्रिप्ट, मार्कसिट, रेजिस्ट्रेसन र उत्तरपुस्तिका सन्र्दभमा कर्मचारीको चरम लापरबाहीदेखि धाकधम्कीसम्मको सामना गर्नुपर्ने उदाहणीयस्थल बन्न पुगेको छ ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विद्यार्थीहरूले सेवा लिन आउने ठाउँ पनिकामा कार्यालयको ढिलासुस्ती, सजिलै हुने काममा पनि कर्मचारीको झर्कोफर्कोले समयमा काम नहुँदा राजधानीका विभिन्न होटलमा लामो समयसम्म खर्चालु अवस्थामा बस्न बाध्य हुने गरेका छन् ।

यी कार्यालयका ढिलासुस्तीका कुराहरू भए अर्कोतर्फ कर्मचारीको लापरबाहीको कारण उत्तरपुस्तीका हराइदिदा सयौँ विद्यार्थीहरू अन्योलमा पर्ने गरेका छन् भने उनीहरूको भविष्यमाथिनै परीक्षा नियन्त्रण कार्यालयले गम्भीर त्रुटि गर्ने गरेको छ ।

२०७४ सालमा सिन्धुली बहुमुखी क्याम्पसकाको बिबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको नतिजा सार्वजनिक गर्ने बेलामा त्रिविविले ६९ जना विद्यार्थीको उत्तर पुस्तिका नै हराएको भन्दै फेरी परीक्षा दिनुपर्ने सूचना दिएको थियो । परीक्षाको नतिजा सार्वजनिक गर्ने बेलामा पुनः परीक्षा गराउनुले विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको भन्दै विद्यार्थीले सर्वत्र आलोचना गरेका उदाहरण धेरै छ ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुले पटक पटक हुने यस्ता त्रुटीहरूलाई सच्याउनुपर्नेमा झनै त्रुटीमाथी त्रुटी थुपार्दै गएको छ । यतिका धेरै गल्तीबाट पाठ नसिकेको पनिकाले झनै समस्या माथी समस्या थपेको प्रशस्तै भेटिन्छ र देखिन्छन् पनि ।

हाजिरीसहित परीक्षा दिँदा पनि नतिजा नआएर पनिका पुग्ने सयौं विद्यार्थीहरूलाई तपार्इँको उत्तरपुस्तिका हराएको छ, फेरी परीक्षा दिनुहोस् भन्दै कर्मचारीले पन्छाउने गरेको उदाहरण धेरैको छ ।

केही महिना अघिमात्रै परीक्षामा सहभागी भएर परीक्षा दिदा अनुपस्थित भनी मार्कसिट आएकोमा हेलो सरकारमार्फत उजुरी गरेका केही विद्यार्थीलाई पनिकाले कापी हराएको भन्दै फेरी परीक्षा दिन आग्रह गरेको थियो ।

यसरी विद्यार्थीको भविष्यमाथी खेलवाड गर्ने पनिकाले आफ्नो गल्तीलाई सुर्धादै लैजानुको सट्टामा फेरी अर्को परीक्षा दिनु भन्दै पन्छिने गरेको छ ।

यसरी हरेक बर्ष परीक्षाफल प्रकाशित हुँदा परीक्षा दिदाँ अनुपस्थित, ट्रान्सक्रिप्टमा रेजिस्ट्रेसन नम्बर फरक त कहिले नाम नै गलत आउने गर्दछ । परीक्षा नियन्त्रण कार्यालयले गरेका यस्ता विभिन्न गल्तीको विद्यार्थी स्वयंम आफैले पुनः शुल्क तिरेर सच्याउनुपर्ने अवस्था छ । कार्यालयकै गल्तीका कारण प्रमाणपत्र सच्याउन पुगेका विद्यार्थीहरूलाई महाभारतको लडाई गरेजस्तो गर्नुपर्छ । गल्ती सच्याउनको लागि पनिकाले थप समय खर्च गरिदिन्छ ।

पनिकाको विषयगत फाँटमा कार्यरत कर्मचारीमा यस्ता समस्याहरू लैजाँदा सजिलै काम होला भनेर विद्यार्थीले कल्पना समेत गर्नसक्ने अवस्था छैन । उनीहरूले राम्रोसँग विद्यार्थीको समस्या नै नबुझी भोलिको ठाडो भाका तोक्ने गरेका छन् ।

त्रिविमा हुने गरेका विचौलिया प्रवृतिको पनि वर्णन गरी नसक्नुको छ । सम्पुर्ण प्रक्रिया पु¥याएर विद्यार्थीहरूले आफ्नो मार्कसिट लगायतको प्रमाणपत्र पाउँ भन्दै निवेदन दिँदा समेत प्रमाणपत्र पाउँदैनन् । कर्मचारीले केही न केही सानो कमजोरी देखाएर पन्छिदै केही दिनको भाका सारिदिन्छन् । टाढाबाट आएका सेवाग्राहीहरूको उक्त समस्याको विचमा केही विचौलिया छिर्छन् र पैसाको बार्गेनिङ गर्न थाल्छन् । राजधानीमा लामो समय बसेर खर्चगर्नु भन्दा उनीहरू केही पैसा बुझाएर काम गर्न बाध्य हुन्छन् । यसरी विचौलिया र कर्मचारीबीचको अनैतिक कार्यले पनि पनिकामा ठूलै जरो गाडेको छ ।

परीक्षा नियन्त्रण कार्यालय जस्तो देशभरका सेवाग्राही आउने शाखामा आवश्यक सूचना पाटीहरू समते छैनन् । कुन काम कुन कोठाबाट हुन्छ भन्ने सामान्य जानकारीसहितको कुनै बोर्ड भेटिदैनन् । यसरी सूचनापटी नहुँदा विद्यार्थीहरू दिनभर कुन कोठामा के काम हुन्छ भन्ने अन्योलले बल्खुमै भौंतारिरन्छन् ।

यतिका साना–साना कमजोरीलाई पनि व्यवस्थापन गर्न नसक्नुले पनिकाको अवस्थाबारे छर्लङ्ग हुन्छ । विद्यार्थीहरूको सेवाको लागि सरकारी तलब थापेर बसेका कर्मचारीहरू गल्ती सच्याउन तथा आफ्नो शैक्षिक प्रमाणपत्र लिनको लागि पुगेका सेवाग्राहीको प्रश्न सुन्नासाथ रिसाउँछन् । कर्मचारीहरूबाट सजिलै र नरम स्वरमा उत्तर पर्खनु भनेको विद्यार्थीलाई विरलै छ ।

पनिकाको अर्को मुख्य समस्या भनेको यहाँ आफ्नो फाइल भेट्टाउन लागि निकै कठिनाई पर्छ । अहिलेसम्म कार्यालय प्रविधिमैत्री नबन्दा सेवाग्राही थप मर्कामा छन् । प्रविधिमैत्री नहुँदा रेजिस्ट्रेसन नम्बरका आधारमा फाईल खोज्न निकै समय लाग्छ । जसका कारण पनिका आउने जो कोही विद्यार्थीको समय लम्बिन जान्छ र दुरदराजबाट आएका विद्यार्थीहरू झन् धेरै समस्यामा पर्ने गर्दछन् । केही महिना पनिकाले एक दिनभित्र ट्रान्सक्रिप्ट दिने घोषणा गरेको भएपनि अहिलेसम्म यसलाई सवै संकाय र तहहरूमा लागू हुनेगरी व्यवहारमा ल्याउन सकेको छैन ।

जीवनको शैक्षिक उपलब्धी स्नातक र स्नाकोत्तर तह उतिर्ण गरेपछि आफूले आर्जन गरेको मार्कसिट लिन आउने दूरदराज तथा राजधानीका क्याम्पसका सेवाग्राहीहरू कार्यालयको ढिलासुस्ती र झर्कोफर्काेका कारण बर्षौको अध्ययनपछि आफुले पाएको सजाय बराबर ठान्दछन् । यस्ता विभिन्न समस्याको कारण आजीत बनेका सेवाग्रही पनिका बल्खुमा टेक्न नपरे हुन्थ्यो भन्ने अपेक्षा राख्दछन् ।

अहिलेको प्रविधियुक्त युगमा त्रिभुवन विश्वविद्यालयले विद्यार्थीहरूको रेजिस्ट्रेसन तथा कार्यालयको विभिन्न रेर्कडहरू राख्न अझै अफ्नो पुरानै कागजे शैली अपनाउने गरेको छ । अहिले मुलुक डिजिटललाइज सेवा तर्फ उन्मुख भइरहेको समयमा ६० जति आंगिक र एउटा केन्द्रीय क्याम्पस भएको त्रिभुवन विश्वविद्यालय प्रविधियुक्त नहुनु निकै लज्जाको कुरा हो ।

देशकै पुरानो र ठूलो विश्वविद्यालयको परीक्षा नियन्त्रण शाखाले कर्मचारी व्यवस्थापन, अनुसानशिल र सेवाप्रदान तर्फ उन्मुख बनाउनुपर्ने देखिन्छ । शाखाको कार्यहरू तुरुन्त डिजिटल प्रविधिमा लैजादै यस पनिकाले दिने सेवाहरूमा कर्मचारी लगायतको व्यस्थापन मर्यादित बनाई सेवाग्राहीप्रती उत्तरदायी बन्नुपर्ने देखिन्छ ।

 

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment