“गण्डकी प्रदेश प्रकृतिको वरदान”-प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेश प्रकृतिको वरदान भएको बताएका छन् । गण्डकी प्रदेशको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सम्बोधनमा उनले गण्डकी प्रदेशको प्रचुर बयान गरे । उनले भने-“यो प्रदेश प्राकृतिक, पर्यटकिय, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, पौराणिक, भाषिक तथा जातिय लगायत सम्पूर्ण हिसावले भरिपूर्ण छ ।” तर यसमा प्रदेश सरकारको चासो केन्द्रित हुनुपर्ने उनको सुझाव छ ।

सम्बोधनमा उनले गण्डकी प्रदेशका फेवाताल, वेगनासताल, विन्दवासिनी, स्तुपा, मनकामना, मुक्तिनाथ, कालीगण्डकी लगायत धार्मिक, पर्यटकीय तथा प्राकृतिक सम्पदाहरुलाई स्मरण गरे ।

उनले गण्डकी प्रदेशमा जसलाई जे चाहिन्छ, त्यही पाईने बताए । उनले ठट्यौली पाराले भने भगमान मान्नेलाई भगवानको आर्शिवाद, नमान्नेलाई जनताको पौरख प्रकृतिको वरदान रहेको बताए ।

प्राकृतिक रुपमा भरिपूर्ण गण्डकी प्रदेशमा असाधारण पर्यटन विकासको सम्भावना रहेको ओलीले बताए । यहाँका हरेक बोट र हरेक ढुंगामा जडिबुटी रहेको भन्दै उनले त्यसको प्रशोधन र ब्यापारमा ध्यान दिन प्रदेश सरकारलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले प्रदेश सरकार नयाँ अभ्यास भएका कारण कसरी प्रयोग गर्ने भन्ने केही अन्यौल देखिएको बताए । ‘पहिले स्थानीय निकाय अहिले तहजस्तोजस्तै थियो, केन्द्रीय सरकार त थिँदै थियो । संघीयतामा प्रदेश नयाँ अभ्यास हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यसको तालमेल मिलाउन केही समय लाग्छ ।’

प्रधानमन्त्री ओलीले विकासका लागि सुशासन अनिवार्य रहेकोले भ्रष्टाचारको अन्त्य हुनु आवश्यक रहेको समेत औंल्याए ।

ओलीले देशको समृद्धी र आर्थिक विकासका लागि रेलमार्ग विस्तार र पानी जहाज चलाउने कुरा दोहोर्याए । उनले सरकार रेल ल्याउने कुरामा गम्भीरताका साथ लागिरहेको प्रष्ट्याए । केरुङबाट काठमाण्डौं हुँदै पोखरादेखि लुम्बिनीसम्म रेलमार्ग विस्तार द्रुतगतिमा हुने उनको विश्वास छ ।
प्रधानमन्त्री ओलीले आफुले दुई वर्ष अघि रेलको कुरा गर्दा मजाक वनार्ईएको भन्दै रेल चलाई छाड्ने दृढता व्यक्त गरे । ‘मैले रेलको कुरा गर्दा धेरैले मजाक वनाए । अरु देशले रेल चलाउन हुने नेपालले नहुने त्यस्तो पनि हुन्छ ?, उनले भने–’नेपालमा रेल चल्छ ।’

पूर्व पश्चिम रेल चलाईन्छ ।’ रक्सौल काठमाण्डौ रेल पुर्व सम्भाव्यता अध्ययन सूरु भईसकेको र छिमेकी मुलुक चीनले समेत आउदो अगष्टवाट सम्भाव्यता अध्ययन सुरु गर्ने उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले नेपालका हरेक बोट र हरेक ढुंगामा जडिबुटी रहेको भन्दै त्यसको प्रशोधन र ब्यापारमा सरकारले कार्यक्रम ल्याउने बताए । उनले पहराबाट मिनिरल सहितको पानी बग्ने भन्दै संसारमा नेपालको जस्तो पानी नपाईने दावी गरे ।

‘हाम्रोमा बाहेक मिनिरल वाटर कुनै देशमा बन्दैन । छानेको पानी मिनिरल वाटर बन्छ ?, उनले थपे–’खोलामा बगेको पानी बोतलमा भरेर बेच्यो भने मात्रै देश धनी बन्छ । रेल चलाएपछि ल्याउने सामान अरु होला तर पठाउने बस्तु मिनिरल वाटर हो ।’

आम नेपाली जनताको चाहना विकास र समृद्धि भएकोले सरकार त्यसका लागि तयार रहेको प्रधानमन्त्रीको भनाई छ ।

उनले नेपालबाट तुईन हटाईछाड्ने दृढता दोहोर्याए । ‘पोहोर परारको तुइनको फोटो हालेर मलाई जिस्क्याउँछन । तर त्यसको मतलव मलाई छैन, उनी भन्छन–म तुईनको शत्रु हो । नेपालबाट तुईन हट्छ हट्छ ।’ प्राविधिक हिसाबले एक सय जति तुइन हटाएर अरु संरचना बनाउन नमिल्ने खालका देखिएको बताउँदै ओलीले बरु केबल राख्ने तुइन चाहिँ हटाएरै छोड्ने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशमा फिल्म सिटीको अवधारणा पनि सरकारले सञ्चालन गर्न लागेको जानकारी दिए । ‘यत्तिकै अमिताभ बच्चन नेपाल आएका छैनन । मैले जि सिनेमाका कलाकारहरुलाई गण्डकी प्रदेशभित्र मस्र्याङदीको आसपास ठाउँ हेर्न भनेको छु, उनले थपे–’यो प्रदेशमा फिल्म सिटी बन्दा आधा मुम्वई यता सर्छ । मुम्वईमा समथर बाहेक केही देख्न पाईंदैन, यता हिमालदेखि तालसम्म सबै देख्न पाईन्छ ।’

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment