८० वर्षीय वृद्ध आमा भन्छिन-“नातिनातिनालाई पढ्न सिकाएको हेरेर मैले पनि सिके”

तारा पौडेल /पोखरा, १५ असार । “नातिनातिनालाई सिकाएको हेरेर मैले पढ्न सिके ।” यो वाक्य हो, माछापुच्छ«े २ भुजुङ्र्गखोला बस्ने ८० वर्षीय वृद्धा आमा दमयन्ती आचार्यको । उनी अझै अगाडी थप्छिन्—“हाम्रा पाला पढ्ने लेख्ने चलन थिएन, अहिले त विद्यालयमा मात्र होईन्, घर घर हुन्छन् की टोलका बच्चाबच्ची जम्मा पारेर हुन्छ पढ्न सिकाउँछन् । अनि यिनीहरुसँगै बसेर हेर्दा, सुन्दा त मैले पनि पढ्न सिके ।”

मुखले बोल्ने मात्र होईन आमाले त टोल पढाई समूहमा राखेका पुस्तक निकालेर नअक्मकाईकन सरर पढेर सुनाईन् । यो देन हो राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत टोल पढाई समूहको ।

विहिवार पोखरा महानगरभित्रका विद्यालय र टोल पढाई समुहमा गरिएको छलफल अनुगमन तथा मुल्यांकनका क्रममा पढाईको यस्तो प्रभावकारिता भेटिएको हो । निरक्षर ८० वर्षीय आमालाई साक्षर बनाउन सक्ने यस कार्यक्रम जसको लागि सञ्चालन गरिएको हो, उसका लागि प्रभावकारी नहुने त कुरै भएन् ।

कक्षा १, २ र ३ का बालबालिकाको पठन सिप विकास गर्ने उद्देश्यले युएसएआईडिको आर्थिक तथा प्राविधिक सहयोग र जिल्ला शिक्षा कार्यालयद्वारा सञ्चालित प्रारम्भिक कक्षा पढाई कार्यक्रम कास्की लगायत १६ जिल्लाका बालबालिकाका लागि समुदाय स्तरमा गरिएको कार्यक्रम हो ।

यसै सन्दर्भमा विगत दुई वर्षदेखि सञ्चालन हुदै आएको यो कार्यक्रमको अन्तिम चरणमा पोखरा १६ को बाटुलेचौरस्थित विन्ध्यवासिनी मावि र विन्ध्येश्वरी माविमा गरिएको अनुगमन तथा मुल्यांकनको क्रममा यो कार्यक्रम निकै सवल रुपमा सञ्चालन भएको पाईएको छ ।

यस कार्यक्रमले बालबालिकामा पठन सिपको विकास गर्नुका साथै अभिभावकलाई पनि साक्षर बनाउन महत्वपूर्ण भूमिका खेलेको पाईयो । कार्यक्रमले बालबालिका र अभिभावक तथा बालबालिका र शिक्षकविचको सिकाई तथा पढाईप्रतिको सामिप्यता बढाएको छ भने विद्यालय र समुदायविचको चिसोपन घटाउने काम गरेको छ । यसले बालबालिकालाई शैक्षिक मात्र नभएर बाह्य ज्ञानको पनि विकास भएको पाईयो ।

“यसको प्रभावकारीता सबैको मन भित्र पस्न सकेको मात्र नभई अभिभावकहरुलाई आफ्ना बाल–बालिकाको पठन सिप विकासका लागि सहयोगी भएको छ ।” विन्ध्यवासिनी माविका प्राचार्य कृष्णप्रसाद आचार्यले भने । यस्तै शिक्षिका वविता वानियाँले तालिमपश्चात कक्षामा सिकाई निकै उपलव्धीपूर्ण रहेको बताईन् । यस्तै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चन्द्रा थापा तथा शिक्षक ईश्वर खड्काले पनि कार्यक्रम प्रभावकारी भएको बताएका थिए ।

यस्तै गरी भुजुङ्र्गखोलास्थित विन्ध्येश्वरी माविका प्राचार्य श्रीराम आचार्यले यस कार्यक्रमले विद्यार्थीहरुको पढाईप्रति सकृय सहभागिता जनाउने गरको बताउँदै सिकाई प्रभावकारी भएको बताए । साथै समुदायमा विद्यालयप्रतिको यसले चेतनाको स्तर पनि वृद्धि गरेको उनको भनाई छ ।
यस्तै टोल पढाई समूह अन्तर्गत बाटुलेचौरको धोविनीपाटन टोल पढाई समूहले विदाको समयमा टोलका बालबालिका जम्मा पारेर प्रभावकारी रुपमा शिक्षण गरेको पाईयो । २० जनासम्म बालबालिकाको सकृय सहभागिता रहने उक्त समूहमा भर्खरै एसइइ उतिर्ण छात्रा देवी विकले संयोजकको भूमिका निर्वाह गरेकी छन् । यस्तै भुजुङ्र्गखोलास्थित माईटोल पढाई समुहको नेतृत्व गरेकी कमला गिरी भन्छिन् —“ बालबालिकालाई पढाउँदा मैले पनि धेरै कुरा सिक्ने अवसर पाएकी छु । बच्चाहरु पनि खुसी भएर पढ्न आउँछन् । धेरै राम्रो सिकाई भएको छ । बच्चाहरु फुर्सदको समय डुलेर भुलेर होईन्, खेलेर रमाएर पढेर सदुपयोग गर्छन् ।”

माछापुच्छ्रे माविका प्राचार्य सन्तोष आचार्यले यस कार्यक्रमले पढाई सिपको महत्व बुझेको र कार्यक्रम प्रभावकारी भएको बताए । उनले विद्यार्थीहरुमा पढाईको द्रुतता बढेको जनाए ।

स्मरण रहोस प्रारम्भिक कक्षा कार्यक्रम विद्यालयभित्र लागु गरिन्छ भने टोल पढाई समुह टोलमा गठन गरि सञ्चालन गरिन्छ । यसका अलवा पढाई मेला, पढाई प्रतियोगिता, पढाई कुनाको स्थापना लगायतका क्रियाकलाप पनि सञ्चालन गर्न सकिन्छ ।

एकातिर कार्यक्रम जति नै प्रभावकारी भयो भनेर गुणगान गाईरहदा अर्कोतिर फेज आउट भएपछि कसरी कार्यक्रमलाई निरन्तरता दिने होला भन्ने चिन्ता छ, शिक्षक र अभिभावकको । विद्यालयदेखि लिएर टोल पढाई समूहसम्मको अनुगमनमा शैक्षिक सामाग्री कम भएको र अव कार्यक्रम फेज आउट भएपछि कसरी निरन्तर कार्यक्रम अगाडी लैजाने भन्ने चिन्ता र चासोको विषय छ । सकेसम्म आफैले पनि यसलाई निरन्तरता दिने सोचमा छन् शिक्षक र अभिभावक । सकभर स्थानिय सरकारबाट केहि सहयोग मिलेमा आफुहरुलाई ठुलो राहात मिल्ने उनीहरुको विश्वास छ ।
कार्यक्रमको निरिक्षण पश्चात बोल्दै माछापुच्छ्रे गाउँपालिकाका शिक्षा विभाग प्रमुख लोकनाथ आचार्यले यस कार्यक्रमले समुदायमा शिक्षाप्रतिको जागरण बढेको र विद्यालय र समुदायविच अन्यानोश्रित सम्वन्ध अगाडी बढेको बताए । कार्यक्रमले विद्यार्थीहरु पढाईप्रति उत्सुक भएको उनको भनाई छ । उनले शिक्षामा समुदायको सकृय सहभागिता गराउने काम ईजीआरपीले गरेको बताए । उनी भन्छन्—“कक्षाकोठाको पठनपाठन बालकेन्द्रित हुन सहयोग गरेको छ । शिक्षकहरुको सहजीकरणमा विद्यार्थीहरुले आफै गरेर सिक्ने प्रवृतिको विकास भई भाषालाई सजिलै बुझ्ने क्षमताको विकास भएको छ ।”

साथै उनले कार्यक्रम फेज आउट हुने भयो भन्दैमा चिन्ता मान्नुपर्ने कुनै कारण नरहेको बताए । जहाँ इच्छा त्यहाँ उपाय भनेझै इच्छाशक्ति भयो भने कार्यक्रमलाई विद्यालय र समुदाय आफैले पनि निरन्तरता दिन सकिनु साथै यसका लागि आफुले पनि सक्दो सहयोग गर्ने बताए । उनले आफ्नो यस कार्यक्रमलाई समेट्नको लागि स्थानिय निकायका नीति तथा कार्यक्रममा समावेश गर्न सरोकारवालासँग लविङ्ग गर्न तथा माग गर्न सुझाव समेत दिए । जसले गर्दा आफ्नो कार्यक्रमलाई निरन्तरता दिन सहयोग पुगोस ।

अनुगमन तथा मुल्यांकन कार्यक्रममा गैरसरकारी संस्था कास्कीका अध्यक्ष इन्दिरा पौडेल, स्रोत व्यक्ति नेत्रबहादुर आले, कृष्णप्रसाद पौडेल, डोलराज रेग्मी, महोदत्त पोख्रेल, टेकनाथ बराल, अभिभावक संघका अध्यक्ष हेमराज बराल, सिएमओ देवहादुर ढेंगा मगर, उषा पराजुली, माया गुरुङ्ग, होमनाथ आचार्य किरण विक, विष्णुमाया ढकाल लगायतको उपस्थिती रहेको थियो ।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत कास्कीमा समुदाय परिचालनको जिम्मा बाल हितकारी परियोजना नेपालले पाएको थियो ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment