स्व.इन्द्रा स्मृति मानव मिलन नारी पुरस्कार ब्रह्मकुमारी परिणीता दिदीलाई

२०७४ पौष ११ , मंगलवार

पोखरा । यस वर्षको स्व. इन्द्रा स्मृति मानव मिलन नारी पुरस्कारबाट ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय नेपालकी निर्देशिका राजयोगिनी ब्रह्माकुमारी परिणीता दिदी सम्मानित भएकी छन् । मानव मिलन नारी जागरण नेपालले मंगलवार एक कार्यक्रमको आयोजना गरी उक्त पुरस्कारबाट आध्यात्मिक क्षेत्रमा निरन्तर सकृय रहि ज्ञानको माध्यमबाट सुन्दर र स्वस्थ समाज निर्माण गराउने कार्यमा महत्वपूर्ण भूमिका निभाएकी परिणीता दिदिलाई सम्मानित गरेको हो । कार्यक्रममा मानव मिलन संस्थाका संस्थापक नेपाल केशरी डा. श्री मणिभद्रमुनी जी महाराजको सानिध्यता तथा कास्की क्षेत्र नम्वर २ प्रदेश सभा २ का सदस्य विन्दुकुमार थापाले परिणीता दिदिलाई सम्मान गरेका हुन् । मानव मिलन नारी जागरण नेपालका संस्थापक कोषाध्यक्ष स्व. इन्द्रा क्षेत्रीको स्मृतिमा संस्थाले स्थापना गरेको पुरस्कारको राशी नगद १० हजार पाँच सय ५५ रूपैयाँ र सम्मानपत्र रहेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश सभा सदस्य थापाले मानव मिलन नारी जागरण नेपाल, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय जस्ता सामाजिक संघसंस्थाले देशमा भएको व्याप्त भ्रष्टचार, विकृति र विसंगतिलाई निर्मुल पार्नको लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । साथै यस्ता सामाजिक संघ संस्थाले व्यक्ति, समाज र राष्ट्र निर्माणमा पनि अतुलनिय योगदान दिन सक्ने थापाकोे विश्वास छ । कार्यक्रममा मानव मिलन नारी जागरण नेपालले निर्वाचित प्रदेश सभा सदस्य थापालाई सम्मान गर्दै बधाई ज्ञापन गरेको थियो ।

पाँचौं स्व. इन्द्रा स्मृति मानव मिलन नारी पुरस्कारबाट सम्मानित व्यक्तित्व राजयोगिनी ब्रह्माकुमारी परिणीता दिदीले महिलाहरुले आफ्नो महत्वलाई बुझेर आफ्नो कार्यसँगै आध्यात्ममा लागेमा जीवन सुखी बन्न सक्ने बताईन् । नारीलाई कसैले कहिल्यै पनि कमजोर ठान्न नहुने उनको भनाई छ ।

कार्यक्रममा मानव मिलन संस्थाका संस्थापक नेपाल केशरी डा. श्री मणिभद्रमुनी जी महाराज, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, संस्थाका सल्लाहाकार तथा काँग्रेश नेतृ सरस्वती गुरुङ, पुरस्कार छनौट समितीका संयोजक प्रभा गौतम, संस्थाका संस्थापक अध्यक्ष सावित्री शर्मा लगायतले बोलेका थिए भने सम्मानित व्यक्तित्वको बारेमा छनौट समितीका संयोजक प्रभा गौतमले जानकारी गराएकी थिईन् ।

तस्वीर : राधिका कंडेल

सम्मानित भएकी परिणीता दिदि नेपालको पहिलो ब्रह्माकुमारी हुन् । परिणीता १३ वर्षको उमेरमा नै ब्रह्माकुमारी भएकी थिईन् । भारतको गोरखपुरमा जन्मिएकी उनको कर्मथलो नेपालमै हो । उनी नेपालमै व्रह्माकुमारी केन्द्रमा बसेर आध्यात्ममा तल्लीन रहेकी छन् ।

यसअघि यस पुरस्कारबाट विभिन्न क्षेत्रमा योगदान प¥याएका ४ जना महिलाहरु सम्मानित भईसकेका छन् । यसरी सम्मानित हुनेहरुमा २०७० मा एचआईभी संक्रमित लक्ष्मी अधिकारी, २०७१ मा फुटवल खेलाडी सीता गुरुङ, २०७२ मा महिला नेतृ सिर्जना शर्मा, २०७३ मा अपांगताको क्षेत्रबाट जमुना पौडेल रहेका छन् । स्व. इन्द्रा क्षेत्रीको बुर्तिवाङमा तालिम सञ्चालन गर्न जाने क्रममा अधिकारी चौरमा दुर्घटना परी निधन भएको थियो ।

संस्थाका अध्यक्ष सविता बरालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत संस्थाका उपाध्यक्ष कमला गिरी र कार्यक्रमको सञ्चालन सचिव मेनुका पोख्रेलले गरेकी थिईन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment