योगेश भट्टराईकी आमा भन्छिन्– कान्छाले जिते हुन्थ्यो, सानैदेखि दुःख मात्रै पायो

रविन भट्टराई/ताप्लेजुङ । ‘आज कान्छाको कार्यक्रम कता छ ? फोन गर्‍यो ?, एमाले सचिव तथा ताप्लेजुङका प्रतिनिधिसभातर्फका उम्मेदवार योगेश भट्टराईकी ९३ वर्षीया आमा महेन्द्रादेवी भट्टराईले चिया पकाउँदै गरेकी नातिनी बुहारी अञ्जुलाई सोधिन् ।

‘कता बम हाने भन्छन्, चुनाव गराउन दिँदैनौ भनेको समाचार पनि सुन्छु, यस्तो समयमा पनि उम्मेदवार बनेर हिँड्यो, यो कान्छालाई यस्तै जुर्दो रहेछ,’ नातिनी बुहारीले पहिलो प्रश्नको जवाफ दिन नभ्याउँदै योगेशकी आमा महेन्द्रादेवीले चिन्ता जनाइन् ।

एक महिनाको चुनावी यात्रा सकेर योगेश बिहीबार फुङ्लिङ नगरपालिकास्थित घर आइपुग्दा रातको ११ बजिसकेको थियो । तर छोरो आउने खबरले हर्षित देखिएकी आमा जागै थिइन् ।

योगेश घरभित्र छिर्नेबित्तिकै आमाले छोराको चुनावी माहोल अन्दाज गर्ने आशयले सोधिन्, ‘कति मान्छे थिए त आमसभामा ? गाउँमा के– के गर्छु भनेको छ, आफूले बोलेको कुरा पूरा गर्नू ।’

आमाको आर्शीवाद लिन योगेशले शीर निहुँर्याउँदा महेन्द्रादेवी भावुक भइन्– जीवनमा सधँै इमान्दार र सत्यवान हुनू ।

योगेश भट्टराई वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेपछि ९३ वर्षीया आमाको दैनिकी पनि फेरिएको छ । बूढो शरीर घिसार्दै ठिहिर्याउने चिसोमा उनी छोराका लागि भोट माग्न बजार ओहोर दोहोर गरिरहन्छिन् ।

विद्यार्थी राजनीति र त्यसपछिको आन्दोलनमा छोराले भोगेको दुःख र पीडा उनी अहिले पनि सम्झिरहन्छिन् । भन्छिन्– कान्छाले जिते हुन्थ्यो, सानैदेखि दुःख मात्रै पायो ।’

सदरमुकाम फुङ्लिङमा रहेको घरमा रहेकी आमालाई भेट्न र योगेशको कुरा गर्न दैनिक दर्जनौं मानिस आउँछन् । आमालाई सोध्छन्, ‘योगेशले त जित्छन् होला नि आमा ? यस्तो प्रश्नमा उनको एउटै उत्तर हुन्छ– जित्नै पर्ने हो । सबैलाई कान्छालाई यसपटक जिताऔं है भनेको छु । योभन्दा बढी म बूढीले अरु के गर्न सक्छु र । ’

सानैमा बुवा गुमाएका योगेशलाई काठमाडौंमा पढ्न आमा महेन्द्रादेवी आफैंले पुर्याएकी थिइन् । ‘काठमाडौं पुर्याएको अर्को दिनदेखि नै राजनीति र आन्दोलनमा लागेछ’, पुराना दिनतिर फर्किएर महेन्द्रादेवी घोत्लिइन्, ‘कहिले धनकुटामा मारेर ट्रकमा हालेर कोसीमा फाले भन्थे, कहिले जेलमा राखे रे भन्थे ।’

उनले छोरालाई उतिबेला पटकपटक सम्झाउँदा समेत नमानेको घटना स्मरण गर्दै अगाडि भनिन्– आफ्नो ज्यानलाई दुःख धेरै नदे भन्दा आफ्नालागि हैन आमा, देशको लागि हो भन्छ । कान्छाले धेरै दुःख पायो । तर देशले चाहिँ के पायो थाहा छैन ।’

एमाले नेता भएपछि योगेशले राम्ररी सुत्नै नपाएको आमाको अनुभव छ । ‘त्यो अहिलेसम्म राम्ररी पनि सुत्न पाएको छैन । कहिले जनआन्दोलन, कहिले विद्यार्थी त कहिले युवाको आन्दोलनमा छु भन्थ्यो । राजालाई चलाउन हुँदैन भन्दा उसकै विरोध गरेर हिँड्यो, कुटाई र जेल त कति हो कति ?’, महेन्द्रादेवी छोराले पाएको झुक्तमानको हिसाब–किताब निकाल्दै बोलिन् ।

सानैदेखि बाठो स्वभावका योगेशको राजनीतिक उपलब्धिमा उनको परिवार खुसी छ । उनका परिवारका सदस्यहरु अब चाहिँ साच्चै देशका लागि केही न केही दिन सक्ने अवस्थामा पुगेको बताउँछन् ।

महेन्द्रादेवीलाई योगेशका दाइहरुले कान्छोले राजनीतिक रुपमा ठूलो प्रगति गरेको सुन्दा आमाको अनुहारमा उत्साह र खुसी देखिन्छ । ‘म त केही बुभ्mदिन उ सँगैकाले के के गरे के के,’ महेन्द्रादेवीले भनिन्, ‘कान्छो चाहिँ देश र जनता भन्छ, एकपटक जितेर मन्त्री भएको हेर्ने मन छ मलाई ।’

आमा महेन्द्रादेवीका अनुसार, योगेश सानैदेखि अरुको दुःख र पीडा सहनै नसक्ने स्वभावका थिए । अहिले पनि उनी गरिब दुःखी देखे भने क्षमता अनुसारको सहयोग गर्न तम्सिहाल्छन् ।

२०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा जन्मिएका योगेश प्रतिनिधिसभा निर्वाचनका लागि योपटक ताप्लेजुङबाट उम्मेदवार बनेका हुन् । वाम गठबन्धनबाट साझा उम्मेदवार बनेका योगेशको प्रतिस्पर्धा नेपाली कांग्रेसका महासमिति सदस्य तथा पूर्व जिल्ला सभापति केशवप्रसाद दाहालसँग हुने अनुमान छ ।

source:onlinekhabar.com

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment