माथिबाटै घटुवाको प्रारम्भ गरेका छौं-प्रचण्ड

 

बिराटनगर । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्रमा माथिबाटै घटुवाको प्रारम्भ गरेको बताएका छन्।
१ नम्वर प्रदेशको पार्टी प्रशिक्षणमा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले विचार, राजनीति र नेतृत्वमा त जित्यौं । तर, संगठन र चुनावी परिणाममा जित्न सकेनौं, त्यसको मूख्य कारण भद्रगोल संगठन हो । अब हामीले माथिबाटै घटुवाको प्रारम्भ गरेका छौं । हिजो मात्रै केन्द्रीय कार्यालयलाई भङ्ग गरेर सचिवालयलाई कार्यकारी बनाएका छौं, अब चुस्त संगठन बनाएर अघि बढ्छौं ।’

‘माओवादी केन्द्रबाट अलग हुने शक्तिहरुलाई जनताले रुचाएनन् । वैद्यजी, विप्लवजी, बाबुरामजी पनि चुनावमा जानुभयो, जनताले माओवादी केन्द्रमै जाउ भन्ने जनमत दिए’, प्रचण्डले थपे, ‘हामीलाई पनि तिमीहरुले अहङ्कार नगर, सबैलाई मिलाउ भन्ने जनमत दिए । धेरै साथीहरु आई पनि सक्नुभएको छ, अब नेताहरु पनि आउनुपर्छ, नत्र उहाँहरुको पनि भविष्य छैन ।’

माओवादीका कारण देशको एकता र समृद्धि सम्भव भएको प्रचण्डले बताए । उनले भने, ‘एकभरि मान्छेहरु माओवादीले बिगार्न र भत्काउन मात्र सिपालु छ भन्ने ठान्थे । तर, हामीले १० महिनामा त्यो भ्रमलाई पुरै गलत साबित गर्यौं । हामीले देशलाई एकतावद्द गर्यौं, हिमाल, पहाड र मधेशलाई मिलायौं । छिमेकीसँग सन्तुलित सम्बन्ध बनायौं, संविधान कार्यान्वयन गर्यौं, स्थानीय तह बनायौं, चुनाव गर्यौं । आर्थिक समृद्धि गुणात्मक स्थानमा पुग्यो, मूल्यवृद्धि रोकियो, लोडसेडिङ हट्यो, विकास आयोजनाहरुले गति लिए, यो सामान्य कुरा हुँदै होइन ।’

प्रशिक्षणमा नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले क्रान्तिका उपलब्धि कुनै हालतमा उल्टाउन नदिने बताए । प्रशिक्षणमा अर्का नेता रामबहादुर थापा बादलले आफूहरुले साम्यवादी ध्येय नभुलेको भनाई राखे । प्रशिक्षणमा नेता एवं प्रदेश नं. १ का ईन्चार्ज गोपाल किराँतीले बिना अक्सिजन सगरमाथा चढ्ने आँट गर्न कार्यकर्तालाई अपील गरे ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment