राष्ट्रिय दलको लक्ष्यसहित नयाँ शक्ति कास्की चुनावी अभियान

पोखरा । नयाँ शक्ति पार्टी नेपालले कास्कीका सबै क्षेत्रमा चुनावी अभियान थालेको छ । सबै क्षेत्रमा उम्मेदवारी दर्ता गराएर उम्मेदवारहरु चुनावी कार्यक्रम लिएर मतदाताको घरदैलोमा पुग्न थालेका हुन् ।

आर्थिक समृद्धिको नारा लिएर राष्ट्रिय राजनीतिको निर्णायक दल बन्ने लक्ष्यसहित देशभरजस्तै कास्कीमा पनि नयाँ शक्तिले चुनावी अभियान थालेको कास्की संयोजक हेमबहादुर थापाले बताए ।

नयाँ शक्ति नेपाल कास्कीले सबैजसो क्षेत्रमा युवा उम्मेदवारलाई टिकट दिएर मतदाताको घरआँगनमा पठाएको छ । समृद्ध कास्की र समृद्ध प्रदेश नम्बर ४ निर्माणका लागि योजनासहित चुनावी अभियान लिएर मतादातको घरआँगनमा जान थालेको संयोजक थापाले बताए ।

शम्भु खातीको अध्यक्षतामा निर्वाचन परिचालन समिति बनिसकेको छ भने २५ गतेबाट औपचारिक घरदैलो कार्यक्रम सुरु हुने नयाँ शक्ति कास्कीले बताएको छ । ‘२५ गते नै कास्कीका ३ वटै क्षेत्रका सम्पर्क कार्यालय स्थापना गर्ने कार्यक्रम छ । क्षेत्र नम्बर १ को डाँडाको नाक, क्षेत्र नम्बर २ को सिर्जना चोक र क्षेत्र नम्बर ३ को पस्र्याङमा सम्पर्क कार्यालय खोल्दैछौं,’ संयोजक थापाले भने, ‘लगत्तै वडा सम्पर्क कार्यालयसमेत स्थापना गरेर मतदाताको घरदैलोमा पुग्दैछौं ।’ कास्कीमा पनि नयाँ शक्ति निर्णायक पार्टी बन्ने दाबी थापाको छ ।

नयाँ शक्तिले कास्की क्षेत्र नम्बर १ मा २९ वर्षीय युवा सौगात पोखरेलाई उठाएको छ । नयाँ शक्ति युवा संगठन प्रशिक्षण विभागका पोखरेलले पूर्व र वर्तमान २ मन्त्रीसँग प्रतिस्पर्धा गर्दैछन् । एमाले नेता तथा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी र कांग्रेसका वर्तमान कानुनमन्त्री यज्ञबहादुर थापासँग चुनावी मैदानमा होमिएका पोखरेलले युवा नेपाली राजनीतिमा हस्तक्षेपकारी रुपमा आउनुपर्ने बताए । क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा नारायणहरि तिवारी र प्रदेश नम्बर २ मा कमल थापा नयाँ शक्तिबाट चुनावी अभियान लिएर मतदाताको घर दैलोमा पुग्दैछन् ।
कास्की क्षेत्र नम्बर २ मा दीपक भण्डारी नयाँ शक्तिबाट एमालेका रवीन्द्र अधिकारी र कांग्रेसका देवराज चालिसेसँग चुनावी मैदानमा छन् ।

क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा नयाँ शक्ति कास्की संयोजक हेमबहादुर थापा एमाले उम्मेदवार कास्की अध्यक्ष कृष्ण थापा र कांग्रेस उम्मेदवार गुरु बरालविरुद्ध जित निकाल्ने लक्ष्यसहित चुनावी मैदानमा गएको बताए । नयाँ शक्तिबाट प्रदेश सभा २ मा डम्मर केसी चुनावी अभियान लिएर जाँदैछन् । कास्की क्षेत्र नम्बर ३ मा नारायण भण्डारी, ३ को प्रदेश सभा १ मा देवी सुवेदी र ३ को प्रदेश सभा २ मा नेत्र चपागाईं चुनावी मैदानमा होकिएका छन् । कास्कीका १/२ ठाउँमा जीत हासिल गर्ने कसरत र राष्ट्रिय पार्टी बन्ने लक्ष्यसहित चुनावी मैदानमा होमिएको नयाँ शक्ति कास्कीले जनाएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment