आज काग तिहार

पोखरा । हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आज मंगलवारदेखि विधिवत रुपमा शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितियासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ ।

तिहारको पहिलो दिन आज काग तिहार मनाईंदैछ । धार्मिक मान्यता अनुसार यमराजको सन्देश वाहकको रुपमा मानिएको कागलाई यमदूतकै रुपमा लिई पूजा अर्चना गरेर चोखो खानेकुरा दिने गरिन्छ । कागले अन्नबालीमा लाग्ने किरा फट्याङ्ग्रा खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रुपमा लिइन्छ ।

यस वर्षको यमपञ्चक अन्र्तगत असोज ३१ गते मंगलबार (कार्तिक कृष्ण त्रयोदशीका दिन) काग तिहार र धनवन्तरी जयन्ती, कार्तिक १ गते बुधबार कुकुर तिहार र नरक चतुर्दशी, २ गते बिहीबार लक्ष्मी पूजा, कार्तिक ३ गते शुक्रवार गाई, गोरु तिहार, कृषक र गोवर्द्धन पूजा एवं कार्तिक ४ गते शनिबार भाइटीका परेको छ ।

धार्मिक मान्यता अनुसार वैदिक कालमा भगवान विष्णु खुसी भइ बलिराजालाई कार्तिक कृष्णपक्षको अन्तिम पाँच दिन तीनै लोकको राज्यमाग गर्न पाएस भनी वरदार दिएको र अन्तिम पाँच दिन बलि राजाले आफ्नो राज्यभरि दीपावली गरेको कथासँग जोडिएको छ ।

यो पर्वको अवसरमा अधिष्ठात्री देवी महालक्ष्मी खुसी भई सबैको घरघरमा बासगरी धनधान्यले भरिपूर्ण पारिदिन्छिन भन्ने मान्यता पनि रहने गर्दछ । यो अवसरमा यमराज खुसी हुन्छन भनी भगवान विष्णुले बलि राजालाई वारदान दिएको मानिन्छ ।

बलिराजाले राज्य गर्ने पाँच दिन यमराजले फुर्सद पाउने भएकाले आफ्नी बहिनी यमुनाकहाँ गई यमराजले बहिनी यमुनाको पूजागरी बस्त्र, आभुषणहरु दिएर भ्रातृस्नेह जनाएकाले यमपञ्चकको दिन दाजु भाइ र दिदिबहिनीले पूजागरी भाईटीका मनाउँदा दाजुभाइको आयु, कीर्ति, सुख र सम्पन्नतामा वृद्धि हुने विश्वास अनुरुप यमपञ्चकलाई विशेष श्रद्धाभक्तिपूर्वक धुमधामसँग मनाउने गरिन्छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment