भुकम्पले भत्काएको विद्यालय भवन मर्मत गरी हस्तान्तरण

पोखरा । भुकम्पबाट क्षती पुगेको पोखरा लेखनाथ महानगरपालिका १९ घार्मीको महेन्द्र मा.वि. को भवन मर्मत गरी हस्तान्तरण गरिएको छ । मर्मत गरिएको भवन संगै पुस्ताकालय, विज्ञान प्रयोगशाला, कपि, कलम र ह्याण्ड ब्याग पनि प्रदान गरिएको हो ।

रोटरी क्लब अफ पोखरा न्यूरोडको सहयोगमा मर्मत गरिएको २ कोठे भवन सहित लाईब्रेरीको लागी आवश्यक पुस्तक तथा विज्ञान प्रयोगशालामा आवश्यक सामाग्री डिष्ट्रीक ३२९२ का गभर्नर रोटरियन संजय गिरीले मंगलवार हस्तान्तरण गरे । सोही अवसरमा बिद्यार्थीहरुको पढाईमा सहयोग पुगोस भनेर कपी कलम तथा ह्यान्ड ब्याग पनि प्रदान गरिएको रोटरी क्लब अफ पोखरा न्यूरोडका पब्लिक रिलेशन चियर पर्सन रोटरियन रामविक्रम अधिकारीले जानकारी दिए ।

भवन हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी डिष्ट्रीक ३२९२ का गभर्नर रोटरियन संजय गिरीले मर्मत गर्न बाँकी रहेको भवनहरु मर्मतका लागी पहल गर्ने तथा अन्य सहयोगका लागी डिष्ट्रीकबाट नै सहयोग गर्ने प्रतिबद्धता जनाए । सो कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक बासुदेव पौडेलले रोटरी क्लबले सहयोग गरकोमा धन्यवाद दिदै रोटरी संगको पहिले देखीको सम्बन्ध अझ प्रगाढ बनाउदै जाने बताए ।

रोटरी क्लवका पूर्व अध्यक्ष तथा बाबा फाउन्डेसनका अध्यक्ष रोटरियन दिलिपराज श्रेष्ठले अभिभावकले आफ्ना नानीबाबुहरु लाई बिद्यालय पठाउन अनुरोध गर्दै यदी कुनै समस्या भएमा तुरन्त रोटरी क्लब अफ पोखरा न्यूरोड तथा बाबा फाउन्डेसनमा खबर गर्न अनुरोध गरे ।

रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष रोटरियन प्रेमप्रसाद शर्माको सभापतित्वमा भएको कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका १९ का वडाअध्यक्ष शोभामोहन पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष माधव पौडेल, कार्यक्रमका संयोजक रोटरियन पुष्पकमल पौडेल लगायतले मन्तब्य राखेका थिए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment