पुनर्निर्माण प्राधिकरण प्रमुख पोखरेललाई प्यूठान छाड्न निर्वाचन आयोगको निर्देशन

काठमाण्डौं । निर्वाचन आयोगले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेललाई प्यूठान जिल्ला छाड्न निर्देशन दिएको छ । कांग्रेस कार्यकर्तासँग भेटघाट गरी निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घन्टे स्पष्टीकरण सोधेको छ ।

आयोगले पोखरेललाई तत्काल प्यूठान जिल्ला छोड्ने व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई आदेश दिएको आयोगका सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाले हस्ताक्षर गरी प्रमुख जिल्ला अधिकारीलाई आज लेखेको पत्रमा भनिएको छ । प्राधिकरणका प्रमुख पोखरेलले असोज १० देखि १८ गतेसम्म प्यूठानका विभिन्न स्थानमा कांग्रेस कार्यकर्तासँग भेटघाट गर्नुभएको थियो । कांग्रेस जिल्ला कमिटीले उहाँको नाम आगामी चुनावका लागि उम्मेदवारमा पनि सिफारिस गरेको छ ।

यसैविच,निर्वाचन आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई सरुवा गरेको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले मन्त्री देवलाई आयोगमा आफैं उपस्थित भई स्पष्टीकरण पेश गर्न भनेको छ ।महानिर्देशक संजीव गौतमलाई आयोगको सहमति बिना स्वेच्छाचारी र बदनीयत ढंगले सरुवा गरेको देखिएको आयोगले बताएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment